निर्वाचनले मुलुक र जनताको जीवनमा रुपान्तरण ल्याउने प्रधानमन्त्री पाउँछः विश्वप्रकाश शर्मा

डिसी नेपाल
१७ भदौ २०७९ २२:०८
72
Shares

सुरुङ्गा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताएका छन् । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुनडाँगीमा नवनिर्मित सालिकको अनावरण गर्दै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले अब बन्ने प्रधानमन्त्री जनताको जीवनमा रुपान्तरण गर्न सक्ने चाहिएको र त्यस्तै प्रधानमन्त्री मुलुकले पाउने बताए ।

मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै महामन्त्री शर्माले, “अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ”, भने ।

नेपाली कांग्रेसका नेता घिमिरेको २०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले गोली हानेर हत्या गरेको थियो । उनको सहादत भएको ६० वर्षपछि नेपाली कांग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको थियो । तत्कालीन बाहुनडाँगीका प्रधानपञ्च रहेका घिमिरेको सहादत प्राप्त भएको छ दशकपछि निर्माण गरिएको शालिकको महामन्त्री शर्माले अनावरण गरेका हुन् । रु १४ लाख ६३ हजार नौ सय ४७ को लागतमा सालिक निर्माण भएको आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिए ।

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश–१ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबेलगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेकपा एकीकृत समाजबादीका सविता भण्डारीलगायतले सो अवसरमा आआफ्नो धारणा राखेका थिए।

शालिक निर्माणका लागि सहिद घिमिरेका नाति निरज घिमिरेले साढे तीन धुर जग्गा दान गर्नुभएको सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष कट्टेलले बताए । सो समारोहमा शहिदका दुई जना परिवारलाई अभिनन्दन गरिएको छ । शहिदका स्व. छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.