भारतीय सेनापति आउँदै, अग्निपथबारे सेनासँगै छलफल गर्ने
काठमाडौं। भारतीय सेनाप्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा आज (आइतबार) काठमाडौं आउँदै छन्।
भारतले ‘अग्निपथ’ योजना लागू गरेसँगै भारतीय सेनामा गोर्खा भर्ती रोकिएका बेाल सेनाप्रमुख पाण्डे नियमित भ्रमणका क्रममा आउन लागेका हुन्। उनी आउनु अघि भारतीय सेनाले नेपाली सेनालाई सहयोगीस्वरुप दिन लागेको पाँच वटा बख्तरबन्द गाडी आइपुगेका छन्।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका भएपनि भ्रमणका बेला भारतीय सेनाले अघि सारेको ‘अग्निपथ’ बारे छलफल हुने बताइएको छ।
भ्रमाणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री एवं उच्च सैनिक अधिकारीसँग नेपाल-भारत सैन्य सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ। ‘भारतीय सेनाप्रमुखज्यूलाई सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ,’ सैनिक प्रवक्ता नारायण सिलवालले भने।
उनका अनुसार सेनाप्रमुख पाण्डेले पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर र शिवपुरीस्थित नेपाली सैनिक कमान्ड एन्ड स्टाफ कलेजको भ्रमणमा जाने कार्यक्रम छ।
प्रधानसेनापति शर्मासँग उनले जंगी अड्डामा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। त्यसमा नेपाल-भारत सैन्य सहकार्य र नेपाली सेनालाई आवश्यक हतियार तथा सैन्य सामग्रीको शीघ्र आपूर्तिलगायतका विषयमा छलफल हुनेछ।
सेनाका अनुसार भारतीय सेनाप्रमुख पाण्डेले भारतीय सेनाबाट नेपाली सेनालाई प्रदान गरिएको तथा भविष्यमा गरिने गाडीलगायतका सैनिक सामग्रीको सांकेतिक हस्तान्तरण कार्यक्रम पनि राखिएको छ।
सेनाप्रमुख पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ। प्रधानसेनापति शर्मासँग उनले द्विपक्षीय सैन्य सम्बन्धबारे छलफल गर्नेछन्।
भरतीय सेनापतिको नेपाल भ्रमणको बेलामा भारत सरकारले ३१ जेठमा भारतीय सेनामा अग्निपथ नामक नयाँ भर्ती योजना लागू गर्ने निर्णयको विषयमा पनि छलफल हुने बताइएको छ। जसअनुसार अब सेनामा नयाँ भर्ती चार वर्षका लागि हुनेछ।
त्यसबाट २५ प्रतिशत जनशक्तिलाई मात्रै सेनाले निरन्तरता दिनेछ भने बाँकी जनशक्तिलाई अर्धसैन्य बलमा प्रतिस्पर्धाका लागि अवसर दिनेछ। चार वर्षसम्म सैनिकलाई तलब, भत्ता उपलब्ध गराउनेछ भने अवकाशका वेला भारतीय रुपैयाँ करिब ११ लाख उपलब्ध गराउनेछ।
यो योजना भारतीय गोर्खा सैनिकका लागि पनि लागू हुने भारत सरकारले जनाएको छ।नेपाल सरकारले भने अग्निपथ योजनालाई गोर्खा भर्ती निरन्तरतासम्बन्धी १९४७ को त्रिपक्षीय सम्झौताले नचिन्ने भन्दै यसअघिकै प्रावधानअनुसार भर्ती निरन्तरता दिन मौखिक आग्रह गरेको छ।
कूटनीतिक स्रोतका अनुसार नेपालले भारत सरकारलाई जवाफ मागे पनि उसले जवाफ दिएको छैन। भारतले अग्निपथअन्तर्गत नेपालीहरूको भर्तीका लागि सहमति दिने वा नदिने भारत सरकारको निर्णय स्वीकार गर्ने मौखिक जवाफ दिएको कूटनीतिक स्रोतले जनाएको छ।







डिसी नेपाल








Facebook Comment