लमजुङबाट प्रदेशसभामा सिफारिस भएका विमल अधिकारी को हुन् ?,यस्तो छ राजनीतिक यात्रा

डिसी नेपाल
१९ भदौ २०७९ २२:४३
1.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लमजुङ ‘ख’मा प्रदेश सभा सदस्यका लागि विमल अधिकारीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।आइतबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको पूर्ण बैठकले ‘ख’ बाट अधिकारीको नाम सिफारिस गरेको हो ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको लमजुङमा संघतर्फ माओवादी केन्द्रका महासचिव देव गुरुङ र अर्का नेता देवेन्द्र पराजुली सिफारिस भएका छन् । प्रदेशतर्फ अधिकारीसँगै माओवादीका प्रदेश कमिटी सदस्य रामचन्द्र पौडेल समेत ‘ख’ बाटै सिफारिस भएका छन् । प्रदेशसभाको अर्को निर्वाचन क्षेत्र ‘क’मा मधुमाया अधिकारी, हरिजन तामाङ,होमबहादुर विक र मेखबहादुर भण्डारी सिफारिस भएका छन्।

‘ख’ बाट सिफारिस भएका अधिकारीको संभावना बलियो रहेको छ । उनी नै उम्मेदवार छनोट हुने माओवादी निकट सा्रेत बताउँछ । उनी माओवादीका केन्द्रीयस्तरका नेता र विभागिय उपप्रमुख समेत हुन् । माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य  अधिकारीको संभावना बलियो रहेको माओवादी लमजुङका नेताहरु बताउँछन् ।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’मा छनोट भए उनको प्रतिस्पर्धा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङसँग हुनेछ । उक्त निर्वाचन क्षेत्रमा एमालेबाट गुरुङ सर्वसम्मत एकल उम्मेदवार सिफारिस भएका छन् ।

को हुन् एमाले उपमहासचिव गुरुङसँग चुनावी प्रतिस्पर्धाको सन्निकट रहेका अधिकारी ?

लामो समयदेखि माओवादी आन्दोलनमा लागेका अधिकारी वौद्धिक र क्षमतावान युवा नेताकोरुपमा माओवादीभित्र आफूलाई स्थापित गरेका छन् । विद्यार्थी हुँदै राजनीतिमा आएका उनी भारतमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष हुँदै आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका हुन् ।

२०४१ सालमा लमजुङ जन्मिएका अधिकारी अध्ययनमा अब्बल समेत छन् । एसएलसीमा जिल्लामै उत्कृष्ट भएका उनी आइएस्सीमा समेत अमृत साइन्स कलेजमा सर्वोत्कृष्टता हासिल गरेका थिए । बिकम र सिए दिल्लीबाट गरेका उनले एमबीए अष्ट्रेलियाबाट उत्तीर्ण गरेका छन् ।  चार्टर्ड एकाउन्टेन्ट समेत रहेका अधिकारी माओवादीको कोष तथा आर्थिक विभागको उपप्रमुख समेत हुन् । उनी हाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए अध्ययनरत छन् ।

अध्ययनको लागि अष्ट्रेलिया होमिएका अधिकारी माओवादी पार्टीप्रतिको मोहले टिक्न नसकि स्वदेश फर्किएको बताउँछन् । राजनीतिको सुरुवात नै माओवादीबाट गरेका उनी औपचारिक अध्ययनका साथै स्वअध्ययनमा समेत रुची राख्दछन् ।माओवादीभित्र  एक क्षमतावान र संभावना बोकेको लाेकप्रिय उनी बौद्धिक युवा नेताको रुपमा परिचय दिलाएका छन् ।

युवाहरुको सहभागिता सुनिश्चित गर्न यसपटकको निर्वाचनमा आफूलाई  माओवादीले उम्मेदवार सिफारिस गरेको उनको दाबी छ । आशन्न निर्वाचनमा माओवादीको तर्फबाट एमाले उपमहासचिव गुरुङसँग चुनावी प्रतिस्पर्धा गर्न सक्षम रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.