आफूले चुनाब हारे अर्को सरकारलाई समर्थन गर्ने ऋषि सुनकको घोषणा
काठमाडौं । बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । बोरिस जोन्सनको राजीनामापछि नयाँ प्रधानमन्त्रीको दौडमा पाँच राउण्ड प्रक्रिया पार गरेपछि मुख्य प्रतिस्पर्धा ऋषि सुनक र लिज ट्रसबीच हुने भएको छ । बोरिस जोन्सनको मन्त्रिपरिषद्मा ऋषि अर्थमन्त्री र लिज ट्रस परराष्ट्रमन्त्री भएका छन् ।
ऋषि सुनकले सुरुमा भारतीय मूलको बेलायतको पहिलो प्रधानमन्त्री बन्ने सम्भावनाका कारण आफ्नो लोकप्रियतालाई धेरै उपयोग गरेका थिए तर चुनावी अभियान अघि बढ्दै जाँदा दुई नेताबीच कडा प्रतिस्पर्धा देखिएको थियो । सर्वेक्षणमा भने ऋषि सुनकमाथि लिज ट्रस हरेक पटक भारी देखिन्थिन् ।
हालैको सर्वेक्षणमा पनि लिज ट्रसले ऋषि सुनकलाई पछाडि पारेकी छिन् । यस्तो अवस्थामा अब ऋषि सुनकको पछिल्लो भनाइबाट पनि यसको स्पष्ट संकेत देखिएको छ । सुनकले प्रधानमन्त्रीको दौडमा हारे भने आगामी सरकारलाई साथ दिने बताएका छन् । उनले सांसद भएर काम गरिरहने बताए ।
सेप्टेम्बर ५ मा नतिजा घोषणा हुनुअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा ऋषि सुनकले प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग हारे भने आफू सांसद रहने र आफ्नो निर्वाचन क्षेत्रको लागि काम गरिरहने बताए । सुनक योर्कशायरको रिचमण्डबाट सांसद हुन् ।
चुनावी नतिजा आफ्नो पक्षमा नआउने सम्भावनाबारे सोधिएको प्रश्नमा सुनकले भने, ‘म कन्जरभेटिभ पार्टीलाई जसरी पनि सहयोग गर्न तयार छु ।’
उनले भने, ‘म सांसद भएर काम गर्छु । मैले संसदमा मेरो निर्वाचन क्षेत्र नर्थ योर्कशायरको रिचमण्डबाट प्रतिनिधित्व गर्ने सुअवसर पाएको छु। जबसम्म मैले यो अवसर पाइरहेको छु, म त्यहाँको प्रतिनिधित्व गर्न चाहन्छु।’
यसपटक प्रधानमन्त्री पद नपाउँदा अर्को पटक उम्मेदवारी दिने बारेमा सोच्ने हो कि ? यो प्रश्नको जवाफमा सुनकले भने, ‘हामीले यो अभियान भर्खरै पूरा गरेका छौं । म यसबाट अलिकति बाहिर निस्कनु पर्छ।’
ऋषि सुनकका यी भनाइलाई ऋषिले प्रधानमन्त्रीको कुर्सीसम्म पुग्न पर्याप्त मत नपाउने कुरा बुझेको हुनसक्ने संकेतका रूपमा हेरिएको छ । तर, यसपटक लिज ट्रससँग पराजय भोगेपछि सुनकले पुनः प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवारी दिने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।
उनी भारतीय मूलको पहिलो बेलायती प्रधानमन्त्री निर्वाचित हुन पुनः निर्वाचनमा उम्मेदवार हुन सक्ने अनुमान पनि छ । बेलायतको प्रधानमन्त्रीको चुनावको प्रारम्भिक चरणमा पहिलो स्थानमा रहेका सुनक अहिले अधिकांश सर्वेक्षणमा लिज ट्रसभन्दा पछि परेको देखिएको छ ।
कन्जरभेटिभ अभियान मुख्यालयका अनुमानित १.६ लाख सदस्यहरूले बेलायतको अर्को प्रधानमन्त्री चयन गर्न अनलाइन वा हुलाक मतपत्र मार्फत मतदान गरे। नयाँ प्रधानमन्त्रीको नाम आज सेप्टेम्बर ५ मा स्थानीय समय अनुसार दिउँसो १२.३० बजे वेस्टमिन्स्टरमा घोषणा गरिने छ । नयाँ प्रधानमन्त्रीको नाम टोरी सदस्यहरूको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्राडीले घोषणा गर्नेछन्।







डिसी नेपाल







Facebook Comment