दक्षिण कोरियामा शक्तिशाली आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा सारियो
सिउल। दक्षिण कोरियामा मंगलबार आएको आँधी हिन्नामनोरका कारण देशको दक्षिणी भागका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने अधिकारीहरूले बताएका छन्।
सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टरमिजरको कार्यलयले पूर्वी तटीय सहर उल्सानमा वर्षाले बगेको खोलामा खसेर २५ वर्षीय एक व्यक्ति बेपत्ता भएको बताएको छ।
हिन्नामनोर आँधी बन्दरगाह सहर बुसाननजिकै झर्नुअघि देशको दक्षिणी टापु जेजु प्रभावित गरेको थियो। आँधीका कारण त्यहाँका हजारौं मानिस बिजुलीविहीन बनेका छन्।
आँधीपछिको भारी वर्षा र छालले समुद्र तटको सडक र पसलमा ठूलो क्षति पुगेको छ। उक्त आँधी ४३ मिटर प्रति सेकेण्डको वेगमा अघि बढेको अधिकारीहरुले बताएका छन्। उक्त आँधी कोरियाली प्रायद्वीपबाट स्थानीय समयअनुसार बिहान ७ बजेपछि दक्षिणपूर्वी शहर उल्सानको पानी हुँदै तटीय शहर जियोजेमा बढेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment