इमरान खानको भनाइलाई लिएर पाकिस्तानी सेना आक्रोशित, कडा बयान जारी गर्‍यो

डिसी नेपाल
२१ भदौ २०७९ ११:११
520
Shares

काठमाडौं । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआर अर्थात् अन्तरराज्यीय सेवा जनसम्पर्क विभागले पूर्व प्रधानमन्त्री इमरान खानले नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर आइतबार दिएको बयानप्रति कडा आपत्ति जनाएको छ। सेनाले इमरान खानको भनाइलाई अपमानजनक र अनावश्यक भएको बताएको छ।

आईएसपीआरले सोमबार भनेको छ, “दुर्भाग्यवश, पाकिस्तानी सेनाको वरिष्ठ नेतृत्वलाई बदनाम र अपमान गर्ने प्रयास गरिएको छ जब सेनाले देशवासीहरूको सुरक्षाको लागि दिनहुँ आफ्नो जीवन बलिदान दिइरहेको छ।”

विज्ञप्तिमा भनिएको छ, ‘सेना प्रमुखको नियुक्तिलाई लिएर देशका वरिष्ठ नेताहरूले विवाद सृजना गर्न खोजिरहेका छन्, जबकि उनको नियुक्तिको कार्यविधि संविधानमा राम्रोसँग तोकिएको छ ।’

आइएसपीआरले सेना प्रमुखको नियुक्तिको विवादलाई दुर्भाग्यपूर्ण र निराशाजनक भनेको छ । सेनाले आफ्नो विज्ञप्तिमा सेनाको वरिष्ठ नेतृत्वको दशक लामो र गौरवपूर्ण सेवाको कीर्तिमान रहेको जनाएको छ ।

विज्ञप्तिमा पाकिस्तानी सेनाको वरिष्ठ नेतृत्व र उनीहरुको चयन प्रक्रियालाई राजनीतिकरण गर्नु न देशको हितमा न सेनाको हितमा रहेको उल्लेख गरिएको छ । सेनाले पाकिस्तानको संविधानलाई कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

यसअघि आइतबार फैसलाबादमा आयोजित एक र्‍यालीमा पीटीआईका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ र बिलावल भुट्टोको कडा आलोचना गरेका थिए । उनले देशमा सत्तामा रहेका दुई ठूला दलले देशको नयाँ प्रधानसेनापति नियुक्ति नभएसम्म सत्तामा बस्न चाहेकाले निर्वाचन हुन नसकेको भन्दै आलोचना गरे ।

यसपछि इमरान खानले दुवै पार्टीले आफूले गरेको भ्रष्टाचार लुकाउन चाहेकोले यस्तो गरेको आरोप लगाए । कमर जावेद बाजवाको कार्यकाल नोभेम्बरमा सकिँदैछ । त्यसपछि नयाँ सेना प्रमुखको नियुक्ति गर्नुपर्छ । बाजवा सन् २०१६ मा तीन वर्षका लागि सेना प्रमुख बनेका थिए । पछि २०१९ मा उनको कार्यकाल तीन वर्षको लागि थपियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *