बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु

डिसी नेपाल
२३ भदौ २०७९ ११:१४
156
Shares

काठमाडौं । भियतनामको दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको बताइएको छ ।

मंगलबार राति केराओके कम्प्लेक्सको दोस्रो तल्लाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको देशको सरकारी सञ्चारमाध्यमले जनाएको छ । त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि त्यसको चपेटामा परेको छ ।

रिपोर्टका अनुसार दोस्रो तल्लाबाट सुरु भएको आगो चाँडै तेश्रो तल्लामा पुग्यो, जहाँ छिटो जल्ने सामान राखिएको थियो। सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् ।

अर्को वेबसाइटले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि आगलागी हुँदा बारमा करिब ६० जना उपस्थित थिए।

आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ । यस्तो अवस्थामा चारजनाले भाग्नका लागि भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए ।

हो ची मिन्ह सहर नजिकै रहेको थुआन आनमा भएको आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *