भोजपुरमा पहिलो पटक पशुको कृत्रि गर्भाधान सेवा शुरु
भोजपुर। भोजपुरमा पहिलो पटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा शुरु गरिएको छ। नश्ल सुधार गरेर पशुलापनमा सम्लग्न किसानको आयआर्जनमा बृद्धि गर्ने लक्ष्यले यो सेवा शुरु गरिएको हो।
यहाँका धेरै किसानहरु पशुपालनमा लागेका भएपनि गाई,भैँसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलो पटक कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिका भेटेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिए ।
पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन नगरपालिकाको अनुदान सहयोगमा गाईभैँसीमा कृत्रिम गर्भाधान गर्न सुरु गरिएको प्रमुख कटुवालले बताए । आइतबारदेखि भोजपुर नगरपालिकामा निःशूल्क कृत्रिम गर्भाधान गर्न सुरु गरिएको हो ।
नगरको पशुशाखा कार्यालयमा आउने किसानका गाई भैँसीलाई निःशुल्क कृत्रिम गर्भाधान गर्ने जनाइएको छ । तर किसानको गोठमा पुगेर गर्नु पर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ।
जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै बर्षदेखि कृत्रिम गर्भाधान (एआइ) सेवा सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए ।
तरल नाइट्रोजन १९६ डिग्रीसेलसियसको चिसोपनमा राँगा, साँढेको बीउलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ । गाईभैँसीमा कृत्रिम गर्भाधान गरादा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा÷भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताए ।















Facebook Comment