पाकिस्तानमा नोभेम्बरमा नयाँ सेना प्रमुखको नियुक्ति, अर्को वर्ष अगस्टमा चुनाव
काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले प्रधानमन्त्री शाहबाज शरीफले यसै वर्ष नोभेम्बरमा नयाँ सेना प्रमुख नियुक्त गर्ने बताएका छन् । उनले पाकिस्तानमा अर्को वर्ष अगस्टमा चुनाव हुने पनि बताए ।
पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । ख्वाजा आसिफले भने कि इमरान खान नयाँ सेना प्रमुखको नियुक्तिको बारेमा सुनेर निराश हुनेछन्, किनकि उनले एक दिन केहि बोल्छन् र अर्को दिन कुरा फेर्छन् ।
पाकिस्तानका रक्षामन्त्रीले भने कि इमरान खानले यो नियुक्तिलाई विवादमा पार्न चाहन्छन् ताकि आफूलाई नयाँ सेना प्रमुख नियुक्त गर्ने मौका मिलोस्। उनले भने, ‘सेना प्रमुखको कार्यकाल बढाउने कुनै प्रक्रिया चलिरहेको छैन न त त्यस्तो प्रस्ताव आएको छ । यसबारे धेरै भन्नु उचित होइन ।’
हाल पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा ६१ वर्षका छन् र उनले २९ नोभेम्बरमा अवकाश लिँदै छन्। जनरल बाजवा नोभेम्बर २०१६ देखि यो पदमा छन्। तीन वर्षको कार्यकालपछि तत्कालीन प्रधानमन्त्री इमरान खानले उनको कार्यकाल थप तीन वर्षका लागि थपेका थिए ।
ख्वाजा आसिफले नेताहरु एकअर्कासँग झगडा गरिरहन्छन् र यो संसारभरि हुने गर्छ तर उनीहरुका संस्थाहरु यस लडाइको हिस्सा बन्न नहुने बताए । “यो मुद्दा यसरी उठाउनु हुँदैनथ्यो र यो पहिले कहिल्यै भएको थिएन,” उनले भने।
ख्वाजा आसिफले पूर्व प्रधानमन्त्री नवाज शरीफले चार पटक (सेना प्रमुख नियुक्त गरेर) आफ्नो संवैधानिक जिम्मेवारी पूरा गरेको र समय आएपछि शाहबाज शरीफले पनि आफ्नो जिम्मेवारी लिने बताएका छन् ।
उनले नयाँ प्रधानसेनापति संविधान र सेनाप्रति वफादार हुने बताए । उनका अनुसार पाकिस्तानमा मार्शल ल लागू हुँदा सेना प्रमुखले आफूलाई नियुक्त गर्नेहरूमाथि पनि यो कानुन लागू गरेका थिए ।







डिसी नेपाल







Facebook Comment