अमेरिकासँग सम्झौता गर्न इरानका राष्ट्रपतिले राखे सर्त
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीले अमेरिकाले परमाणु सम्झौताबाट फेरि पछि हट्ने छैन भन्ने ग्यारेन्टी दिएमा मात्र आफू अगाडि बढ्ने बताएका छन् ।
सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘यदि यो राम्रो र निष्पक्ष सम्झौता हो भने हामी पक्कै पनि सम्झौतामा पुग्नेछौं। यो यथावत रहनुपर्छ। तर ग्यारेन्टी हुनुपर्छ । पहिले ग्यारेन्टी भएको भए अमेरिका यो सम्झौताबाट पछि हट्ने थिएन ।’
उनले भने, ‘अमेरिकाले आफ्नो वाचा तोडेको छ । यो उसको एकपक्षीय निर्णय थियो। अहिले कुनै पनि वाचा गर्नु बेकार छ। हामी अमेरिकीहरूलाई विश्वास गर्न सक्दैनौं किनभने हामीले उनीहरूको व्यवहार देखेका छौं। त्यसोभए यदि उनीहरूले ग्यारेन्टी दिएनन् भने, हामी विश्वास गर्न सक्दैनौं।’
“यो इरानका जनता विरुद्धको अत्याचार हो” उनले भने । जो बाइडेन राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धलाई निरन्तरता दिएकोमा रायसीले असन्तुष्टि व्यक्त गरे। उनले दुई प्रशासनबीचको भिन्नता नदेखेको बताए ।
उनले भने, ‘यो इरानका जनतामाथिको अत्याचार हो । हाम्रा लागि प्रतिबन्धहरू हटाउन महत्त्वपूर्ण छ। उनले आफू ट्रम्प प्रशासनबाट अलग भएको दाबी गरेका छन् र उनले हामीलाई पठाएको सन्देशमा यही भनेका छन् । तर यथार्थमा हामीले कुनै परिवर्तन देखेका छैनौं ।’
यस हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा जो बाइडेनलाई भेट्ने इच्छा र अपेक्षा नभएको रायसीले बताए। उनले भने, ‘मलाई यो भेट होला जस्तो लाग्दैन । उहाँसँग भेटघाट वा कुरा गरेर केही फाइदा हुन्छ जस्तो मलाई लाग्दैन ।’







डिसी नेपाल







Facebook Comment