२ वर्षका छोराको खुत्रुके फुटाएर ५० रूपैयाँ निकाले, भोलिपल्टै त्यो पैसा ४० करोड भयो

डिसी नेपाल
४ असोज २०७९ १२:०७

काठमाडौं । अनुप बी ले दुई वर्षका छोराको खुत्रुके फुटाएर पैसा निकाल्दै गर्दा उनकी श्रीमती उनीसँग रिसाउँदै चिच्याएकी थिइन् । तर श्रीमतीको रिसलाई बेवास्ता गर्दै अनूप बीले खुत्रुकेबाट ५० रुपैयाँ लिएर ओनम बम्पर लटरीको टिकट किनेका थिए जसमा उनलाई २५ करोड (४० करोड नेपाली रूपैयाँ) को लटरी लाग्यो ।

अनूप बीले बीबीसी हिन्दीलाई भने, “उनी रिसाएर भनिरहेकी थिइन् कि चिठ्ठाको टिकटको लागि खुत्रुके तोड्नु ठीक होइन। तर जब मलाई चिठ्ठा परेको थाहा भयो, मैले पत्याउनै सकिन। सुरुमा त मेरी श्रीमतीले पनि पत्याइनन् । तर पछि उनी निकै खुसी भइन्।

अनूपलाई यो लटरी टिकट पाउन ५०० रुपैयाँ चाहिएको थियो तर ५० रुपैयाँ पुगेन । यो ५० रुपैयाँ उनले छोराको खुत्रुके तोडेर पूरा गरे । उनका अनुसार भोलिपल्ट चिठ्ठाको ड्र निस्किने भएकोले उनीसँग अर्को विकल्प थिएन । तर, उनको यो प्रयास सम्पूर्ण परिवारका लागि भाग्यको बाकस खोलेजस्तै साबित भयो ।

यो पनि संयोग हो कि गत वर्ष ओनमको बम्पर लटरी टिकट अटो रिक्सा चालकको नाममा निस्कियो र अनूपले पनि अटो रिक्सा चलाउँछन् । केरलाको राजधानी तिरुवनन्तपुरमका अनूप बीको लाखौं रुपैयाँ ऋण पनि छ।

२९ वर्षीय अनुप भन्छन्, “म रेस्टुरेन्टमा काम गर्थें। केही समय दुबईमा पनि बसें। फर्किएपछि यहाँ अटो रिक्सा चलाउन थालें। महिनामा २० देखि २५ हजार रुपैयाँ कमाउने गर्थे। तर तीन महिना अघि काम छुट्यो।”

अटो रिक्सा चलाउने जागिर छुटेपछि अनुपले शेफको जागिर खोज्न थाले । उनले मलेसियामा मासिक ५० हजार रुपैयाँको रोजगारी पनि पाएका छन् । त्यसपछि उनले बैंकमा तीन लाख रुपैयाँ ऋणका लागि निवेदन दिएका थिए ।

“लटरी निस्कनु एक दिन अघि बैंकको ऋण स्वीकृत भएको थियो। म अझै बैंक गएको छैन,” उनी भन्छन्।

अनूपलाई चिठ्ठा अचानक परेको होइन । उनले विगत सात वर्षदेखि लगातार चिठ्ठाको टिकट किन्दै आएका छन् । यसअघि उनले २ हजारभन्दा बढी जित्ने मौका पाएका थिएनन् । उनले भने, ‘पहिले बेलाबेलामा मात्र लटरीको टिकट किन्ने गर्थे तर पछिल्ला केही वर्षदेखि नियमित टिकट किन्न थालेको छु ।’

लटरी जितेर के गर्ने भनेर सोध्दा अनूपले भने, ‘सबैभन्दा पहिले ऋण तिर्छु, पाँच–छ लाख रुपैयाँ ऋण छ ।’ कर तिरेपछि र लटरी एजेन्टको कमिशन तिर्दा, अनूपले चिठ्ठाबाट १५.७५ करोड रुपैयाँ पाउनेछन्। अनूपले बाँकी पैसाले के गर्ने – घर बनाउने, रेष्टुरेन्ट खोल्ने वा अरू केही गर्ने ?

अनुप बीले भने, “अहिलेसम्म केही सोचेको छैन। म अझै अचम्ममा छु। यद्यपि म पक्कै घर बनाउँछु, म खाँचोमा परेकाहरूलाई पनि मद्दत गर्नेछु। यसबाहेक, म होटल पनि खोल्छु। तर यो सबै तब मात्र हुनेछ जब केरला सरकारबाट लटरी पुरस्कार रकम प्राप्त हुनेछ।”

करोडौं जितिसकेपछि के अनूपले भविष्यमा पनि लटरीको टिकट किन्ने हो कि ? तुरुन्त जवाफ दिँदै अनुपले भने, “हो, म टिकट किनिरहन्छु।”

केरला सरकारले पनि लटरी टिकटको बिक्रीबाट ठूलो राजस्व पाउँछ। गत शनिबारसम्म सरकारले ६६.५ लाख टिकट बिक्री गरेर करिब २७० करोड रुपैयाँ संकलन गरेको थियो । यो राजस्व पुरस्कार पैसा र जीएसटी भुक्तानी कटाएपछिको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *