दशैं टीकाको दिन भारी वर्षाको सम्भावना

डिसी नेपाल
१५ असोज २०७९ ८:०७

काठमाडौं । यसपालि दशैँको दिनमा केही ठाउँमा ठूलो पानी पर्ने भएको हुनाले  सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले दशैंको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको र यसले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने जनाएको हो।

महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमी देखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना छ। आउँदो मंगलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महशाखाकाअनुसार बिहीवार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशहरूका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यी दिनहरूमा पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा मनसुन सरदर अक्टोबर २ अर्थात भोलिदेखि बाहिरिने भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसमविद्ले यसअघि नै भनिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *