एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा

डिसी नेपाल
२५ असोज २०७९ ११:०६
88
Shares

खोटाङ। खोटाङमा एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन्।

आगामी ४ मंसिमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभा (क)मा नेकपा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका पाँचकर्ण राई (पिके), नेकपा (एकीकृत समाजवादी)बाट बीरवलकाजी राई र जनता समाजवादी पार्टीबाट राकेश राई चुनावी दौडमा उत्रिएका हुन्। एकै वडाका तीन नेताले आइतबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन्।

पाँचकर्ण र राकेश साविकको बुईपा-२ का स्थायी बासिन्दा हुन् भने वीरवलकाजी साविकको बुईपा–१ का हुन् । साइनोमा एकै दाजुभाइभित्रका पाँचकर्ण काका र राकेश भतिजा हुन्।

एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने भएको छ। दलहरुले भने एकै वडाका तीन नेताले टिकट पाउनुलाई संयोग भनेका छन्। उम्मेदवारी दर्तासँगै तीनै जना नेताहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरुलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रम सम्बन्धी योजना बनाउने चटारो सुरु भएको छ।

आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, प्रदेशसभा (क)मा नौ जना र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *