६६ बालबालिकाको ज्यान लिने खोकीको औषधि बनाउने भारतीय कम्पनीलाई उत्पादन रोक्न आदेश

डिसी नेपाल
२७ असोज २०७९ १०:३३
44
Shares

काठमाडौं । हरियाणाका स्वास्थ्य मन्त्री अनिल विजले म्याडेन फार्मास्युटिकललाई नोटिस पठाइएको र उत्पादन रोक्न भनिएको बताएका छन्। म्याडेन फार्मास्युटिकल त्यही कम्पनी हो जसको कफ सिरप अफ्रिकी देश गाम्बियामा बालबालिकाको मृत्युको लागि जिम्मेवार छ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विजले भने, “केन्द्रीय र हरियाणा औषधि विभागले संयुक्त निरीक्षण गरेका छन् र हामीले कफ सिरपमा करिब १२ वटा दोषहरू फेला पारेका छौं, जसलाई ध्यानमा राख्दै उत्पादन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ र कम्पनीलाई नोटिस दिइएको छ ।”

गत साता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतको हरियाणास्थित औषधि कम्पनी म्याडेन फार्मास्युटिकलका चारवटा खोकी र रूघाको सिरप अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्युको सम्भावित कारण भएको बताएको थियो।

जेनेभामा डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयससले भने, “डब्लुएचओले आज गाम्बियामा पत्ता लागेको चार औषधिको बारेमा एक मेडिकल उत्पादन चेतावनी जारी गरेको छ जुन तीव्र मृगौलाको चोट र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित हुनसक्छ। यो मृत्यु उनीहरूको परिवारको लागि धेरै दुखदायी छ।”

डब्ल्यूएचओले थप भन्यो, “यी चार औषधिहरू भारतमा म्याडेन फार्मास्युटिकल्स लिमिटेडद्वारा निर्मित खोकी र रूघा सिरप हुन्। डब्ल्यूएचओले भारतमा कम्पनी र नियामक अधिकारीहरूसँग थप अनुसन्धान गरिरहेको छ। यी दूषित उत्पादनहरू अहिलेसम्म गाम्बियामा मात्र फेला परेका छन्, तर तिनीहरू अन्य देशहरूमा पनि वितरण गरिएको हुन सक्छ। डब्ल्यूएचओले सबै देशहरूलाई बिरामीहरूलाई हानि हुन नदिन यी उत्पादनहरू परीक्षण गर्न र हटाउन सल्लाह दिन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *