अस्पतालको छतमा यति धेरै लाशहरू कहाँबाट आए ?
काठमाडौं । पाकिस्तानको पञ्जाब राज्यको मुल्तान सहरको प्रसिद्ध निस्तार अस्पतालको छतमा शवहरूको तस्बिर भाइरल भइरहेको छ । त्यसपछि पञ्जाब सरकारको प्रारम्भिक अनुसन्धानमा यी अज्ञात व्यक्तिहरूको शवहरु भएको बताइएको छ ।
उनीहरूका अनुसार यी लाशहरू स्थानीय प्रहरीले मेडिकलका विद्यार्थीलाई शैक्षिक प्रयोजनका लागि निस्तार मेडिकल युनिभर्सिटीलाई बुझाएको थियो । बिहीबार साँझ सामाजिक सञ्जालमा यस्ता विचलित पार्ने तस्विर र भिडियोहरु सार्वजनिक भएका छन् ।
यस्ता धेरै लाशहरू देख्न सकिन्छ जसको हालत निकै खराब छ । यी तस्विर र भिडियोहरु बाहिरिएपछि सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेको छ कि यी कसका लाशहरू हुन् र उनीहरुलाई किन यसरी फ्याँकियो ?
यो बहसले अड्कलबाजी र हल्लालाई जन्म दियो, त्यसपछि पञ्जाब सरकारले बिहीबार राति नै छानबिनको घोषणा गर्यो। निस्तार अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।
पञ्जाब सरकारले निस्तार अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई लेखेको पत्रमा भनिएको छ, “निस्तार अस्पतालको छतमा सडेका शवहरू देखिएपछि चिन्ताको लहर आएको छ र प्रशासनले यसबारे ध्यानाकर्षण गर्दै छानबिन गर्ने निर्णय भएको छ।”
पञ्जाब सरकारको तर्फबाट निस्तार अस्पतालका प्रशासनिक प्रमुखलाई यस विषयमा विस्तृत अनुसन्धान गरी तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यो अनुसन्धान पूरा हुनुअघि नै पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीका छोरा तथा पूर्व केन्द्रीय मन्त्री मुनिस इलाहीको तर्फबाट शुक्रबार बिहान निश्तार मेडिकल कलेजले दिएको प्रारम्भिक जवाफ सामाजिक सञ्जालमा प्रस्तुत गरिएको थियो।
मुनिस इलाहीका अनुसार ‘निस्तार मेडिकल युनिभर्सिटीको एनोटोमी विभागका प्रमुखले आफ्नो जवाफमा यी शव अपरिचित व्यक्तिका हुन् जसलाई प्रहरीले पोस्टमार्टम गर्ने उद्देश्यले निस्तार मेडिकल युनिभर्सिटीमा दिएको स्पष्ट पारेका छन् ।’
एनाटोमी शरीरका अंगहरू बारे सिक्ने विषय हो जुन मेडिकल कलेजहरूमा पहिलो दुई वर्षमा एमबीबीएस गर्ने विद्यार्थीहरूलाई सिकाइन्छ।
जबकि पोस्टमार्टम भनेको मृत्युको कारण पत्ता लगाउन मृतकको शव परीक्षण गरी शवबाट नमूनाहरू प्राप्त गरी परीक्षण गर्न सकिने प्रक्रिया हो।
यस स्पष्टीकरणका अनुसार, “प्रहरीले शव बुझाएपछि आवश्यक परे एमबीबीएस विद्यार्थीहरूको शैक्षिक उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ” भनिएको थियो।
तर, यस स्पष्टीकरणमा अस्पतालले ‘शव कुहिएको र दुर्गन्धित भएकाले फ्रीजरमा राख्न नसकिने र शैक्षिक प्रयोजनका लागि पनि प्रयोग गर्न पनि नसकिने अवस्था रहेको’ दाबी गरेको छ ।
निस्तार मेडिकल युनिभर्सिटीको एनोटोमी विभागका प्रमुख भन्छन्, ‘यस्ता शवको सड्ने प्रक्रिया पूरा भएपछि हड्डीहरू छुट्याइन्छ जसलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गरिन्छ र शव गाड्ने गरिन्छ । त्यसैले यो मृत शरीरको अपमानको मामिला होइन ।”
बीबीसीले निस्तार अस्पतालको मेडिकल कलेजको एनोटोमी विभागकी प्रमुख प्राध्यापक मरियम अशरफसँग सम्पर्क गर्दा उनले यस विषयमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिइन् ।
यो जवाफ र स्पष्टीकरणलाई सामाजिक सञ्जालमा धेरैले अपर्याप्त भन्दै प्रश्न गरेका छन् कि जे उद्देश्य भए पनि कसैको शव यसरी कसरी फाल्न सकिन्छ र अस्पतालमा शवगृह केका लागि हुन्छ ?
यी प्रश्नहरूको जवाफ खोज्न बीबीसीले रहिमयार खानको शेख जैद अस्पतालको एनोटोमी विभागका प्रमुखसँग कुरा गरेको छ ।
बीबीसीसँग कुरा गर्दै उनले भने, “मेडिकल विषय पनि पढाइने शिक्षण अस्पतालमा सामान्यतया दुई प्रकारका शवगृह हुन्छन्। एउटा एनोटोमी विभाग र अर्को फोरेन्सिक विभाग जहाँ पोस्टमार्टम गरिन्छ।”
उनी भन्छन्, ‘सामान्यतया यस्तो हुन्छ कि प्रहरीले पोष्टमार्टमका लागि शव ल्याउँदा पहिचान नखुलेको शव पोस्टमार्टमपछि उसको हकवालाले लैजान्छ भन्ने आशामा शवगृहमा राखिन्छ ।”
उनका अनुसार ‘मृतकको परिवार फेला पार्न प्रहरी सफल भएमा शव बुझाइदिन्छ तर पहिचान हुन नसकेको र परिवारका सदस्य नभेटिएका शवलाई पूर्ण व्यवस्थासहित शवगृहमा राखिन्छ।”
एक प्रश्नको जवाफमा उनले भने, ‘कानूनी रूपमा यस्ता शव पहिचानका लागि दुई सातासम्म राखिन्छ र यस क्रममा प्रहरी विभिन्न स्रोतबाट सम्बन्धित परिवारसम्म पुग्ने प्रयासका लागि जिम्मेवार हुन्छ ।’
“यस अवधि पछि ती शवहरूलाई शैक्षिक उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। तर सामान्यतया यस्ता चिन्न नसकिने शवहरूलाई चार हप्तासम्म राखिन्छ, जसमा शवलाई सड्नबाट जोगाउन रासायनिक प्रक्रिया अपनाई भण्डारणमा राखिन्छ।
उनी भन्छन्, ‘यस्तो शव दिने छुट्टै व्यवस्था छ जसमा कसले हामीलाई लाश दियो लेखिएको हुन्छ र त्यससँगै शवको अन्य जानकारी पनि अभिलेख हुन्छ ।’
‘यस अवधिमा कसैको पहिचान भएमा प्रहरीको सहयोगमा परिवारलाई फिर्ता गर्न सकियोस् भनेर कम्तिमा तीन–चार महिनासम्म शवलाई सुरक्षित अवस्थामा राख्छौँ ।”
डा. ओवेसका अनुसार, “यदि यो अवधिमा पनि शव पहिचान गर्न सकिएन भने, त्यसलाई शरीर विज्ञान विभागले शैक्षिक उद्देश्यका लागि प्रयोग गर्दछ, जसमा यसको विच्छेदन गरिन्छ र विद्यार्थीहरूले शरीरका विभिन्न अंगहरू बारे जान्छन्।”
डा.ओवैस थप भन्छन्, “यो प्रक्रिया पूरा भएपछि हामीसँग शवलाई पूर्ण सम्मानका साथ गाड्ने व्यवस्था छ। केही समयपछि शव निकालेर त्यसको हड्डीलाई शैक्षिक प्रयोजनका लागि पनि प्रयोग गरिन्छ।”







डिसी नेपाल







Facebook Comment