महाचुनावमा बामदेवकाे ‘मौन व्रत’

के गर्दैछन् गाैतम ?

डिसी नेपाल
१३ कार्तिक २०७९ ११:३१
68
Shares

काठमाडौं। सरकारले मंसिर ४ मा आम निर्वाचन गर्नेगरी निर्वाचनको मिति घोषणा गरेपछि नेकपा एकता राष्ट्रिय अभियानमा संयोजक बामदेव गौतम सत्ता गठबन्धनबाट चुनाव लड्ने तयारी गर्दै थिए।

उनले प्यूठानबाट चुनाव लड्न चाहेका थिए। तर सत्ता गठबन्धनको भागवण्डामा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्यूठानबाट टिकट पाएपछि गौतम ब्याक भए। चुनावमा टिकट नपाएका गौतम यतिबेला राष्ट्रिय राजनीतिबाट ओझेलमा परेका छन्।

गौतमले एमाले विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको एकीकृत समाजवादीमा जान खोजेका थिए। त्यसका लागि उनले दोस्रो मर्यादाक्रम आफूले पाउनुपर्ने दाबी गरेका थिए।

गौतमले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने बताएका थिए। त्यसमा झलनाथ खनालले असन्तुष्टि जनाएपछि एकीकृत समाजवादीमा जाने गौतमको चाहना पूरा हुन सकेन।

गत स्थानीय तह निर्वाचनमा एकीकृत मसाजवादीका लागि चुनावको गीत गौतमले नै लेखिदिएका थिए। त्यस अर्थमा उनको झुकाव एकीकृत समाजवादीतर्फ भएको देखिन्छ।

मुलुक महानिर्वाचनको संघारमा रहेका बेला गौतम भने ‘गुमनाम’ छन्। उनी अध्ययन, लेखन र भेटघाटमा समय बिताइरहेका स्वकीय सचिव दीपक टमाटाले बताए। ‘अहिले उहाँ लेखन, अध्ययन र भेटघाटमा समय बिताइरहनु भएको छ,’ टमाटाले भने, ‘अहिलेको चुनावमा भाग लिने पार्टीले निर्णय गरेको छैन। यो चुनावमा उहाँ कसैको पक्षमा पनि हुनुहुन्न।’

जीवनको उत्तराद्र्धमा पुगेका गौतमको जीवनमा एक पटक प्रधानमन्त्री बन्ने ठूलो चाहना छ। ०७४ को चुनावमा बाम गठबन्धनले झण्डै दुई तिहाइ मत ल्याउँदा बर्दियाबाट गौतम पराजित बनेका थिए। त्यसपछि पनि उनले प्रतिनिधिसभामा पुग्न कसरत जारी राखे।

काठमाडौं-७ बाट निर्वाचित सांसर रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर चुनाव लड्न खोजेका थिए। त्यसको चौतर्फी विरोधपछि उनी ब्याक भए। तत्कालीन नेकपा हुँदा सचिवालयमा गौमतले जसलाई साथ दियो, उतै बहुमत पुग्ने अवस्था थियो।

राजनीतिक रुपमा अस्थिर गौतम कहिले केपी ओलीतिर त कहिले प्रचण्डतिर लागेर राजनीतिक लाभ लिइरहे। अन्ततः गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरियो।

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था भएका कारण गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रवधान राख्नुपर्ने आवाज उठाउन छोडेनन्।

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने प्रवधानका कारण यो चुनावमा गौतम प्रतिनिधिसभा निर्वाचनमा उठ्न र जित्न चाहन्थे। तर सत्ता गठबन्धनको प्राथमिकतामा गौतम परेनन् र उनको प्रतिनिधिसभा सदस्य बन्ने चाहना पूरा नहुने भएको छ।

अघिल्लो निर्वाचनमा बर्दिया-१ बाट कांग्रेसका संजय गौतमसँग पराजित भएका बामदेव गौतमका बहिनी ज्वाइँ लक्ष्मण ज्ञवाली एमालेबाट सोही क्षेत्रबाट संजय गौतमसँग प्रतिस्पर्धामा छन्।

अहिले गौतम व्यक्तिगत रुपमा ज्ञवालीलाई जिताउने अभियानमा छन्। उनी दसैं अगाडि बर्दिया पुगेर ज्ञवालीसँग भेट गरेर फर्किएका थिए।

‘स्वभाविक रुपमा उहाँको लक्ष्मण ज्ञवालीप्रति सद्भाव छ,’ एक नेता भन्छन्, ‘आफू गठबन्धनबाट उम्मेदवार बन्न नपाएपछि अहिले उहाँ नाताले बहिनी ज्वाइँ पर्ने ज्ञवालीको पक्षमा चुनावी परिणाम आओस भन्ने पक्षमा हुनुहुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.