राजनीतिक परिवर्तनका लागि मेरो उम्मेदवारीः भण्डारी (अन्तर्वार्ता)
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता एवम् दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ (ख )प्रदेशसभा सदस्य पद्का उम्मेद्वार उमाकान्त भण्डारीसँग निर्वाचनका सन्दर्भमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
तपाईको उम्मेद्वारी किन ?
राष्ट्रियताको रक्षा, धर्म संस्कृतिको जगेर्ना, व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र शान्ति सुरक्षा तथा यस क्षेत्रको समग्र विकास र जनताको स्तर उन्नतिको लागि मेरो उम्मेद्वारी रहेको छ ।
समाजसेवा गर्न सहज छ ?
समाज सेव ागर्न सोचे जति सहज छैन । जनचाहाना अनुसार काम गर्नुपर्छ । राम्रो नराम्रो कामको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नु पर्छ । दुई ख क्षेत्रको विकास र जनताको सुखदुखमा लामो समयदेखि आफुले सक्दो सहयोग र साथ दिंदै आएको छु । यस क्षेत्रका सम्पूर्ण आदरणीय जनताहरुलाई यो कुरा सर्वविदितै छ । त्यसैले म निरन्तर समाजसेवामा लागेको छु ।
तपाईको जित सुनिश्चित छ ?
मैले यस क्षेत्रका जनताको सुखदुखमा लामो समयदेखि साथ दिंदै आएको छु । यस क्षेत्रको समग्र विकासको लागि क्रियाशील छु । यहाँको शिक्षा, स्वास्थ्य, यातायात, सडक, सिंचाई, खानेपानी पानीको लागि सधैं समर्पित छु । जनताको सुखदुखमा साथ दिंदै आएको छु म अहिलेसम्म राजनीतिक कुनै पदमा नरहँदा पनि सम्पूर्ण जनताको सेवाको लागि काम गर्दै आएको छु । तसर्थ सम्पूर्ण यस क्षेत्रका मतदाताहरुले मलाई मतदान गरी विजय गराउनु हुने छ । म यसमा ढुक्क छु । तसर्थ मेरो जित सुनिश्चित छ । म अत्याधिक मत प्राप्त गरेर विजयी हासिल गर्ने छु ।
तपाईका चुनावी एजेण्डा के रहेका छन् ?
मैले यस क्षेत्रलाई नेपालकै नमुना क्षेत्र बनाउने छु । यस क्षेत्रको उत्तरतिर धार्मिक पर्यटकीय स्थल, जडिबुटी प्रशोधन केन्द्र, जलाधरको लागि खोलामा हाईड्याम बाँध्ने छु । यस भित्र रहेका सानातिना खोलानाला, मूलका मुहानहरुलाई संरक्षण गरी प्रशस्त मात्रामा सिंचाई र स्वच्छ पिउने पानीको मुहानको रुपमा परिणत गर्ने छु । यहाँ भएका खोला, नाला, नदी सबैमा पुल, कल्भर्ट बनाउने छु । वृहत खानेपानी योजना, वृहत सिचाई, यस क्षेत्रमा एउटा सुबिधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने छु । नेपाल संस्कृति बिद्यालयलाई आयुर्वेद चिकित्सालयको रुपमा विकास गर्दै अनुसन्धान केन्द्र बनाउने सोच लिएको छु । यस प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने मेरो प्रतिबद्धता छ । त्यसैगरी मैले राज्यबाट पाउने सेवा सुविधा आफुले नलिई अनाथहरुको संरक्षणको लागि लगाउने छु । मलाई विश्वास छ मेरा एजेण्डाहरु पूरा गर्नको लागि यस क्षेत्रका मतदाताहरुले मलाई आफ्नो अमूल्य मत दिई विजय गराउनु हुने छ । चुनावमा जितेर जाने नेताहरुले कहिल्यै पनि जनताको आत्मदानलाई कदर गर्न नसकेकोप्रति मेरो दुख छ । जनताको मतलाई सम्मान गर्नका लागि म चुनावमा उम्मेद्वार बनेको हुँ ।
अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्थालाई मैले हेर्दा अझै डामाडोल नसकिएको अवस्था छ । जनआन्दोलन दुई पछि मानिसमा आशा पलाएको थियो । समयमै संविधान र शान्ति प्रक्रियाले मुर्तरुप पाउँछ र जनतालाई गास बास कपासको ग्यारेन्टी हुन्छ भन्ने थियो । तर त्यो हुन सकेन यसको जिम्मेवार मुख्य राजनीतिक दल नै हुन । निश्चित उद्देश्यका लागि दलहरु एक ठाउँमा भएर दोस्रो जनआन्दोलन गरे । तर दुर्भाग्यवस राष्ट्र र राष्ट्रियताको लागि दलहरु एकै ठाउँ भएर समग्र राष्ट्रको विकास गर्नुपर्नेमा स्वार्थ पुरा हुना साथ विभिन्न ध्रुवमा देखा परे । यही नै नोपलीको दुर्भाग्य हो ।
अन्त्यमा मतदातालाई केही भन्नु छ ?
धर्म र राष्ट्रको लागि मेरो उम्मेद्वारी हो । तसर्थ यस क्षेत्रका जुनसुकै आस्था र विचारको व्यक्ति भएपनि समुन्नत राष्ट्र र प्रजातन्त्रका लागि युगिन मतदानको घडीमा विवेकशील हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूको अमूल्य मतदानबाट म विजयी हुने कुरामा ढुक्क छु ।







डिसी नेपाल








Facebook Comment