एलिजा फाउण्डेशनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं। एलिजा फाउण्डेशनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिका-५ मा रहेको श्री सिंहदेवी आधारभुत विद्यालयका १२० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो।
फाउण्डेशनकी अध्यक्ष एलिजा गौतम र संरक्षक गीतादेवी भेटुवालले विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन्। फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको क्षेत्रमा ठूलो मात्रामा सहयोग गर्ने घोषणा गरेअनुसार आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको जनाइएको छ।
फाउण्डेशनकी अध्यक्ष एलिजाले फेशबुकमा लेखेकी छिन्-”एलिजा फाउण्डेशनको तर्फबाट आज सानो सहयोग गर्न पाइयो। मन आनन्दित छ। फाउण्डेशनको स्थापनादेखि नै हामीले कुनै न कुनै रूपमा समाजमा योगदान पुर्याउँदै आएका छौं। आज तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभुत विद्यालयका १२० जना विद्यार्थी भाइ/बहिनीहरुलाई न्यानो कपडा प्रदान गरेका छौं। यो पुण्य कार्यमा जुटनुभएको विद्यालय व्यवस्थापन टिम, अभिभावक, शिक्षक तथा शिक्षिका सबैमा आभार व्यक्त गर्दछु। फाउण्डेशनकी संरक्षकसमेत रहनुभएको मेरो आमा गितादेवी भेटुवालको मार्गदर्शनलाई आत्मसात् गर्दै समाजसेवामा मेरा पाईला निरन्तर चलिरहने प्रण गर्दछु । भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । सबैमा धेरै–धेरै धन्यवाद । एलिजा गौतम अध्यक्ष, एलिजा फाउण्डेशन”
No ads found for this position

डिसी नेपाल
Facebook Comment