आइपीओको तयारीमा रहेको नर्भिकद्वारा ४० प्रतिशत लाभांशको घोषणा
काठमाडौँ। साधारण सेयरको प्राथमिक निष्काशन (आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
अस्पतालले हाल कायम चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँको ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश बाँड्नेछ। घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमीटेडमा रुपान्तरण भइसकेको छ। आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो।







डिसी नेपाल







Facebook Comment