‘यस्तो नियति कसैले भोग्न नपरोस्’

सीता भट्टराई/रासस
६ पुष २०७९ १५:१३
300
Shares

काठमाडौँ। इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउँछिन्। यसै आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन्।

श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आएकी हुन्। उनले ५० वर्षदेखि काठमाडौँको विभिन्न स्थानमा बदाम व्यापार गर्दै आफ्नो जीविकोपार्जन भएको बताउँछिन्।

तीन वर्षको उमेरदेखि नै राजधानी आएकी उनी हाल भक्तपुरको बाल्कोटमा बस्दै आएकी छन्। आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उनी ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि यस्तै व्यापार गर्दै आएकी उनीले बताउछिन्। एक छोरा, एक छोरीको आमा भएकी उनले २९ वर्ष अगाडि श्रीमान् गुमाउनुपरेको थियो।

उनले भनिन्, “बदाम एकैचोटि भण्डारण गर्न गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु। दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर आफूले ल्याउने र त्यही बेचेर आफ्नो एक्लो जीविकोपार्जन चलाएकी छु।”

टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आएकी उनले अहिलेसम्म यही व्यापारबाट नै जीविका चल्दै आएको बताउँछिन्। बदाम जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा जाने र अरू याममा भने सानोतिनो चाउचाउ, बिस्कुट लगायतका सामान व्यापार गर्दै आएकी छिन्। कुनै दिन धेरै त कुनै दिन थोरै आम्दानी रहने भए पनि समग्रमा प्रायः दैनिक पाँच सय वरिपरि आम्दानी गर्दै आएकी छन्।

बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थापछि बाहिर व्यापार गर्दै आएको बताउँदै महानगरपालिकाको डरैडरमा व्यापार गरेको जनाउँदै कोही कोही महानगरपालिकाका कर्मचारीले मेरो सङ्घर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको घटना सुनाइन्।

छोराको साथ नपाएकी उनले आफ्नै छोराछोरी हुदाँहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो पोखिन्। उनी जिन्दगीमा धेरै सङ्घर्ष गरेको र आफ्नो दुःख आफैँका लागि हुनाले सबैजना आफ्नो लागि मेहनत गरेर आत्मनिर्भर हुनुपर्ने बताउँछिन्।

त्यस्तै टुँडिखेलको बाहिर बदाम व्यापार गर्दै आएकी रसुवा स्थायी ठेगाना भई हाल नरदेवी बस्दै आएकी सुनिता कार्कीको पनि जीवन कथा र व्यथा उनीसँग मिल्दोजुल्दो छ। श्रीमान् गुमाएपछि १२ वर्षसम्म बदाम र अन्य सामानको सानो व्यापार गरेर मासिक १२ हजार आम्दानी गर्दै आएकी छन्।

सानै उमेरमा छिमेकीले काठमाडौँ ल्याएका र यही आफ्नो जीवनयापन बित्दै गएको बताउँछिन्। उनले भनिन्, “श्रीमान्को साथ गुमाएपछि जीविकोपार्जन गर्नका लागि बदाम व्यापार रोजेँ। आफ्नो व्यापार गर्नुको पीडा आफैँसँग छ, पहिलेको समयमा व्यापार गर्न सजिलो थियो अहिले महानगरले सानो व्यापार पनि गर्न दिँदैन।” खान त एक छाक खाने हो, कोठाभाडा तिर्नका लागि नै यो कष्ट गरेको बताउँछिन्।

टुँडिखेलभित्र सफासुग्घर गर्दै २४ वर्षसम्म बदामलगायत अन्य सामानको व्यापार गर्दै आएकी काभे्रपञ्लानचोक घर भई हाल लगनचोकमा बसोबास गर्दै आएको रमिता तिमिल्सिना (नाम परिवर्तन) आफ्नो दिदीले गाउँमा गरेको व्यापार देखेर आफ्नो विवाहपश्चात् काठमाडौँ आएर यो व्यापार सुरु गरेको बताउँछिन्। साथमा दुई छोरा र श्रीमान् भएकामा श्रीमान् पनि काठमाडौँमा सानोतिनो जागिर गर्दै आएकी छन्।

जेठा छोरा स्नातकमा र कान्छा छोरा ११ मा अध्ययनरत रहेको रमिताले बताउँछिन्। छोराहरुको पढाइ खर्च, कोठा भाडालगायत आफ्नो जीविकोपार्जन यही व्यवसायबाट औसतमा चल्ने उनको भनाइ छ।

जाडोयाममा घाम ताप्न खुल्ला ठाउँ उपयुक्त हुनाले मानिसको सङ्ख्या बढी हुने गरेको बदाम व्यापार बढी हुने र आम्दानी पनि सोहीअनुसार हुनाले बचत गर्न सकिने बताउँदै अरू याममा भने काँक्रोको व्यापार गर्ने उनले बताइन्।

आफूमात्र होइन आफ्नै छिमेकीमा रहेका अशक्त एक व्यक्तिलाई पनि टुँडिखेलभित्र व्यापार गर्न सिकाइन्। गेटको नजिकै निश्चित स्थानमा बस्दै आएको उनले बिक्रीका लागि लिएर आएको पानी, बदामलगायत टुँडिखेलभित्र टाढाटाढासम्म पुर्‍याउन पठाउने र आएको आम्दानी बाडँफाँट गर्ने गरेको बताउँछिन्। उक्त व्यक्ति अशक्त रहेकाले औषधी उपचारका लागि केही सहयोग जुटोस् भन्ने हेतुले व्यापारमा सहजीकरणका साथै व्यक्तिगत जीवनका लागि सहयोगसमेत गर्दै आएकी छन्।

बदाम व्यापार टुँडिखेल क्षेत्रमा मात्रै होइन, गाउँघरदेखि बजारका चोकचोकसम्म उत्तिकै व्यापार हुँदै आएको छ। व्यापार गर्न सहज हुनाले र चिसोयाममा बदामको माग धेरैै हुनाले धेरै व्यापारीहरु बदाम व्यापारमा आकर्षित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *