अपोस्टिल सेवा सहज बनाउन परराष्ट्र सचिवको प्रतिबद्धता
काठमाडौं। विदेशमा बसोबास गर्ने नेपालीहरूको कागजात प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले कागजात अपोस्टिल प्रमाणीकरण प्रणालीको आवश्यकता सम्बन्धमा परराष्ट्र सचिव अमृत बहादुर राईको ध्यानाकर्षण गराइएको छ।
बिहीबार पोर्चुगल निवासी गङ्गा बहादुर नेम्कुलले विश्वभर रहेका नेपालीहरूले भोग्दै आएको कागजात प्रमाणीकरणसम्बन्धी समस्या र डिजिटल युगअनुसार प्रणालीको अपरिहार्यताबारे जानकारी गराउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराएका हुन्।
नेपाल Hague Apostille Convention को सदस्यता प्राप्त देश भए पनि व्यवहारिक रूपमा अपोस्टिल सेवा प्रभावकारी रूपमा कार्यान्वयन नभएको कारण पोर्चुगल लगायत विभिन्न देशमा रहेका नेपालीहरूले अनेकन झन्झट र दुःख भोग्नुपरेको नेम्कुलले बताए।
साे क्रममा परराष्ट्र सचिव राईले नेपाल सरकारले यस विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिँदै अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै विदेशमा रहेका नेपालीहरूलाई सकारात्मक खबर दिने बताए।
आगामी हेग अपोस्टिल सम्मेलन बैठक २०२६ (मोरक्को) बैठकलाई मध्यनजर गर्दै अपोस्टिलसेवाको कार्यान्वयनतर्फ नेपाल सरकारले थप पहल गर्ने अपेक्षा गरिएको छ।
उक्त भेटघाटमा अभियानकर्ता गङ्गा बहादुर नेम्कुलसँगै गङ्गा श्रेष्ठ र सञ्चारकर्मी राजु लामिछानेलगायत उपस्थित थिए।
विदेशमा रहेका नेपालीहरूका लागि अपोस्टिल सेवा प्रभावकारी रूपमा लागू भएमा कागजात प्रमाणीकरण प्रक्रिया छिटो, सरल र विश्वसनीय बन्ने विश्वास गरिएको छ।







डिसी नेपाल







Facebook Comment