सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई

डिसी नेपाल
२५ पुष २०७९ १३:४१
112
Shares

काठमाडौँ। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो।

आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताए। मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उनको दाबी छ।

“यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ। तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ। योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ”, ढकालले भने।

एकीकृत कारोबारपछि बैंकको कूल पुँजी कोष रु ५७ अर्ब पुगेको छ। निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कूल सम्पत्ति रु पाँच खर्ब पुगेको छ। बैंकले सबै जिल्लामा शाखा सञ्जाल पुर्‍याएको छ। हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन्। दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ। बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ। “मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौँ, सरकारको यो नीतिको कार्यान्वयनबाट अरु बैंक तथा वित्तीय संस्था पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौँ”, उनले भने।

बैंकको आकार र वित्तीय सूचकांकमा ठूलो देखिनु मात्र सफलता नभइ मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ।

“मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पुर्‍याउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौँ”, उनले भने।

ठूलो बैंक हुनुका पछाडि अवसर मात्र नभएर कैयौँ चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ। पटक–पटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न सक्षम हुने विश्वास पनि उनले व्यक्त गरे।

बैंकहरुको पुँजी कम हुँदा अहिलेको आवश्यकताअनुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी सङ्ख्यामा बैंकहरुको सहकार्य गर्नुपर्ने अवस्था भएको ढकालको भनाइ छ। ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.