विमान दुर्घटनामा गुमाउनेको सम्झनामा देशभर विभिन्न ठाउँमा दीप प्रज्वलन
काठमाडौं। पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा देशभर विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।
पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका छन् ।
शोकसभामा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुर पाण्डेले पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा क्षति पुगेको बताए।

यस्तै यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चारजना सदस्यको चिरशान्तिको कामना गर्दै क्यविन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ।
सोमबार काठमाडौंको न्युरोड स्थीत नेपाल बायुसेवा निगमको प्रांगढमा उनीहरुले पाइलट, को–पाइलट लगाएत क्रु मेम्वरको मृत्युप्रति दुख व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन्।
साथै उनीहरुले उक्त दुर्घटनामा ज्यान गुमाउने सवै प्रति चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

यस्तै, काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यान लगाएत बिभिन्न संघसंस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्।
साथै उनीहरुले पुराना हवाइजहाजको उडान बन्द गर, हवाइजहाज सम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ बर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला , विदाई कसलाई ? थोत्रा जहाज की सार्वजनि सेवा? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

महोत्तरीको बर्दिबासमा बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दुःख ब्यक्त गरिएको छ।
कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ।

आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा, एयरहोस्टेज ओसिन आलेमगर र सृजना हुङचुङ मगर लगाएत अन्य यात्रुहरुको ज्यान गएको थियो ।
उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।








डिसी नेपाल







Facebook Comment