ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीबाट ओरालो लाग्यो, उच्च सतर्कता अपनाउन अपिल
काठमाडौँ। चीनको तिब्बतस्थित छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै थुनिएर बनेको प्राकृतिक ताल फुटेपछिको भीषण बाढी रसुवाको स्याफ्रुबेसीबाट ओरालो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो १२ बजेर ३१ मिनेट जाँदा भोटेकोशी नदीमा आएको उक्त बाढी स्याफ्रुबेसी पुगेको पुष्टि भएको हो।
बाढीको जोखिमलाई ध्यानमा राख्दै स्याफ्रुबेसी, धुञ्चे, बेट्रावती, विदुर, गल्छी हुँदै मुग्लिनसम्मका त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना नआएसम्म उच्च सतर्कताका साथ तत्कालै सुरक्षित तथा अग्लो स्थानमा रहन अनुरोध गरिएको छ।
यसअघि नै चीनतर्फ थुनिएको ताल फुटेको पुष्टि भएपछि नुवाकोट र रसुवा प्रशासन तथा प्रहरीले तटीय बस्तीहरूमा माइकिङ गर्दै मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेका छन्।
विपद्को यो विषम परिस्थितिलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन र जुनसुकै समयमा आपत्कालीन उपचारमा खटिन सक्ने गरी तयारी अवस्थामा रहन निर्देश गरिसकेको छ।
नदीको बहाव र जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकहरूलाई नदी किनार नजान र प्रशासनद्वारा जारी हुने सूचनाप्रति निरन्तर सचेत रहन आग्रह गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment