पुल्चोकले चुम्यो एस टी २० लिग क्रिकेटको उपाधि

डिसी नेपाल
५ माघ २०७९ ८:२५
52
Shares

भक्तपुर। एस टी २० लिग क्रिकेटको उपाधि पुल्चोक क्रिकेट क्लबले चुमेको छ।

एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि भक्तपुरस्थित सैनिक महाविद्यालयको मैदानमा आयोजना गरेको लिगको बुधबारको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजार रुपैयाँ सहितको उपाधि हात पारेको हो।

खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई प्रतिनिधिसभा सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरे।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट ब्याट्सम्यान र बलरको उपाधि लिए।

उपत्यकाका विभिन्न क्लबका आठ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्च रूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक एस क्रिकेट एवं इभेन्ट्का प्रमुख एवं युवा क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए।

कार्यक्रममा बोल्दै सांसद गौतमले खेलकुदमार्फत देशलाई चिनाउनका लागि पर्याप्त बजेट र प्राथमिकता दिनुपर्ने सुझाव राखे। कलिलो उमेर समूहका एस टीमले क्रिकेटलाई बलियो बनाउन गरेको प्रयास देखेर आफूलाई खुशी लागेको भन्दै सांसद गौतमले यो अभियानमा आफू हातमा हात मिलाएर अघि बढ्ने बताए।

अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले युवाहरुमा क्रिकेट मोह बढी भएकाले युवाका उत्साह र उर्जालाई जोगाई यो क्षेत्रको विकास गर्न सबै जुट्नुपर्ने बताइन्।

कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेल प्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको आयोजक प्रमुख बस्नेतले बताए। एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो।

केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठाकुरले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *