स्याङ्जामा फुटबल खेलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलटमाथि कुटपिट
काठमाडौं । स्याङ्जामा फुटबल खेलिरहेको मैदानमा एक्कासी हेलिकप्टर ल्याण्ड गरेपछि आक्रोशित स्थानीयले हेलिकप्टरका पाइलटमाथि कुटपिट गरेका छन् । बिहीबार वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा घटना भएको हो ।
यहाँ प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनल खेलमा आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकप्टर ल्यान्ड गरेपछि आक्रोशित स्थानीयले पाइलट रमेश डङ्गोललाई कुटपिट गरेको स्याङ्जाकी सहायक प्रजिअ नमिता रेग्मीले जानकारी दिइन् ।
पोखराबाट चार्टर गरेर लगिएको हेलिकप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। हेलिकप्टर निजी रुपमा चार्टर गरिएको रेग्मीले बताइन् । आक्रोशित युवाको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए।
पाइलट डङ्गोलले भने यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकप्टर अवतरण गरेको बताएका छन्। अनुमति बिना खेल मैदानमा झारिएको हेलिकप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment