कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव
झापा। कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ।
कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।
शुक्रबार कम्बोडियाबाट काठमाडौँ आइपुगेको उनको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा ल्याइएको हो। युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया जानुभएको अवस्थामा उक्त घटना भएको थियो।
उनको शव निवासमा आइपुग्ने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो।
“एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ”, स्थानीय इजलास दैनिकका सम्पादक प्रदीप परियार भन्छन्, “आज सिङ्गो विर्तामोड स्तब्ध भएको छ ।” मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए। पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ।
घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए। आजै कनकाइ माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ।







डिसी नेपाल







Facebook Comment