विश्वका शीर्ष २० धनीको सूचीबाट पनि बाहिरिए गौतम अदानी
काठमाडौँ। अदानी ग्रुपको अध्यक्ष गौतम अडानी अहिले शीर्ष २० धनीको सूचीबाट बाहिरिएका छन्। अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले सार्वजनिक गरेको प्रतिवेदनले अदानी ग्रुपको कम्पनीको शेयरमा आएको सुनामीले उनको साम्राज्यलाई हल्लाएको छ। जसले गर्दा अदानी विश्वका २० धनी व्यक्तिको सूचीबाट बाहिरिएर अहिले २१ औँ स्थानमा पुगेका छन् ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी ६१.३ बिलियन डलरको कुल सम्पत्तिका साथ सूचीमा २१औँ नम्बरमा आएका छन्। पछिल्लो २४ घण्टामा उनको सम्पत्तिमा १०.७ बिलियन डलरको गिरावट आएको छ।
सेयरमा आएको गिरावटका कारण सिर्जना भएको अवस्थाबीच गौतम अडानी अहिले फेसबुकका मार्क जुकरबर्गभन्दा पछाडि परेका छन्। जुकरबर्गको कुल सम्पत्ति ६९.८ बिलियन डलर छ र उनी सूचीमा १३ औं स्थानमा पुगेका छन्।
गौतम अडानी बिहीबार ६४.७ अर्ब डलरसहित विश्वका धनीहरूको सूचीमा १६ औं स्थानमा थिए भने २४ घण्टामा उनी पाँच स्थान झरेर २१ औं स्थानमा पुगेका छन्।
सन् २०२२ मा सबैभन्दा धेरै कमाउने व्यक्तिको रूपमा आफ्नो छाप छोड्ने अदानीका लागि २०२३ साल निकै खराब सावित भएको छ। घाटाको बारेमा कुरा गर्दा, ब्लूमबर्गको तथ्याङ्क अनुसार, यो वर्षको सुरुदेखि उनको सम्पत्ति ५९.२ बिलियन डलर क्लियर भएको छ। पछिल्लो १० दिनमा मात्रै उनले ५२ अर्ब डलर गुमाए।
पछिल्लो एक सातामा गौतम अडानीका कम्पनीको सेयरमा आएको गिरावटका कारण सेयर बजारमा सूचीकृत उनका कम्पनीको कुल मार्केट क्याप १०० अर्ब डलरभन्दा बढीले घटेको छ। बिहीबार शेयर बजारमा कारोबार बन्द हुँदा अदानी इन्टरप्राइजेज लिमिटेड २१.६१ प्रतिशत घटेर रु १,६९४.१०, अदानी पावर लिमिटेड ४.९८ प्रतिशतले घटेर रु २०२.०५, अडानी विल्मार ५ प्रतिशतले घटेर रु ४२१.०० मा पुग्यो ।
अदानी ग्रीन एनर्जी लिमिटेडको सेयर १० प्रतिशतले घटेर रु १,०३९.८५ मा, अडानी टोटल ग्यास लिमिटेडको शेयर १०प्रतिशतले घटेर रु १,७०७.७० र अदानी ट्रान्समिसन लिमिटेडको शेयर १० प्रतिशतले घटेर रु.१,५५१.१५ मा पुगेको छ। यसबाहेक अदानी पोर्ट्सको शेयर पनि ४.६६ प्रतिशतले घटेर ४७२.१० रुपैयाँमा पुगेको छ।







डिसी नेपाल







Facebook Comment