ए डिभिजन लिगको तयारी ५० प्रतिशत पूरा

डिसी नेपाल
२० माघ २०७९ १७:३४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ ।

शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले फागुन १९ गतेबाट सुरु हुने लिगको प्राविधिक लगाएत सवै तयारी तीव्र रुपमा भइरहेको जनाएको हो । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुने लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । यस्तै सबै क्लबलाई तयारी खर्चको पहिलो किस्ता १५ लाख उपलव्ध गराइएको प्रवक्ता शाहले बताए । लिगको पाँचौ चरणसम्मको तालिका सार्वजनिक भइसकेको र त्यसपछि बाँकी तालिका सार्वजनिक हुने उहाको भनाइ छ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुराइएको प्रवक्ता शाहले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले लिगको करिव ५० प्रतिशत तयारी पूरा भएको बताए । उनले पछिल्लो समय फुटबल खेलाडी विदेश पलायन हुनु दुखद भएको भन्दै खेलाडीहरुलाई वर्षैभरि व्यस्त गराउनका लागि यस क्षेत्रलाई चलायमान बनाउने प्रयासमा एन्फा रहेको बताए ।

यस वर्ष लिग सम्पन्न गर्न करिव १२ करोड लाग्ने अनुमान एन्फाको छ । यसपटकबाट लिगको मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *