हिमपात नहुँदा भोकमरीको जोखिम

भूमिराज पिठातोली/रासस
१२ फागुन २०७९ १३:१२
112
Shares

बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन्। मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ।

जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो। बुढा भन्छन्, “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो। खेत गराहरू गहुँमय हुन्थे। तोरी पनि रहरलाग्दो हुन्थ्यो। यस वर्ष भने खराप समय भयो।”

सुर्मामा एकपटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो। ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेशा (खाद्यान्न) गर्नु पर्दैथ्यो। “हाम्रो ठाउँ हिमाल भए पनि राम्रो उब्जनी हुन्थ्यो”, बुढा भन्छन्, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ। हिउँदमा भने आकाशकै भर पर्नुपर्छ। मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ। आजसम्म न पानी, न हिउँ परेको छ।”

सदाबहार हरियाली भइरहने रूखहरू पनि सुक्न थालेको सुर्मा–४ का श्याम बोहराले बताए। “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहार्‍यौँ। बिहान बेलुकाको पूजामा हिउँकै बर माग्यौँ”, बोहरा भन्छन्।

गत महिना हिमपात भयो तर सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन। पानी पनि पर्‍यो तर, जमिनको धुलो पनि नमरेको उनको भनाइ छ। फागुनको दोस्रो सातासम्म पनि पानी नपरेपछि खडेरीले यस वर्षको हिउँदे बाली राम्रो नहुने बताउँदै बोहरा भन्छन्, “उम्रेको बाली पनि सबै सुकिसक्यो। अब हिमपात भए वनस्पतिका लागि मात्रै काम लाग्छ।”

दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो। “कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो,” राजेन्द्रबहादुर बुढाले भने, “सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौँ। त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो। त्यसपछि मङ्सिरमा गहुँ छर्‍यौँ। अहिले सिँचाइ नहुँदा सुकेर मर्न लागेको छ।”

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुईवटा योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनी बताउँछन्। “सुदूरपश्चिम प्रदेशले दिएको योजना दुई लाख रूपैयाँको हो”, बुढाले भने, “त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिचाँइ पुग्दैन।”

उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो। दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने बताइएको छ। यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने चिन्ता किसानमा बढेको छ।

सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो। दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचवटै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ। सुर्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ।

“सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकासेपानीकै भरमा छ”, उनले भने, “नहर बनेका ठाउँमा पनि खोलामा पानीको बहाब नहुँदा सुकेको छ।” जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ। “डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत सुकिसकेको छ।” हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने उनले बताए।

गत वर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो। त्यसमा एक कट्टा हुने ठाउँमा तीन कट्ठासम्म पनि उत्पादन भएको थियो। “गत वर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो”, उनले भने। जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए। हिमपात नभएपछि हिमालमा पनि जडिबुटीसमेत नपाइने गरेको उनले बताए। “हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ। जडीबुटी पाइँदैन । न खेतीपाती न जडीबुटी भएपछि स्वतःनै भोकमरी हुने भयो”, उनले भने।

यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ। केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, “तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ। एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकामा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ।” विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ। त्यसमध्ये पनि आकासे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच/सात प्रतिशत उत्पादन घट्ने अनुमान गरेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *