स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

डिसी नेपाल
२० फागुन २०७९ १३:१४
24
Shares

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन्। शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन्।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए। “एक दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्ना सङ्गठन दर्ता गराएका छन्”, उनले भने, “अब विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ।”

निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार विद्यार्थी सङ्गठन दर्ता गर्ने समय तोकिएको थियो। निर्देशनालयका निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता भएको जानकारी दिए। उनका अनुसार आयुर्वेदिक क्याम्पसमा पनि विद्यार्थी सङ्गठन दर्ता हुन सकेन। उाले उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा यही फागुन २१ गतेका लागि विद्यार्थी सङ्गठन दर्ताको समय तोकिएको जानकारी दिए।

उनले उपत्यकामा २१ आङ्गिक क्याम्पसमा सङ्गठन दर्ता भएको बताए। उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इन्जिनिरिङमा सात, नेपाल ल क्याम्पसमा १७, पद्म कन्या बहुमुखी क्याम्पस ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी सङ्गठन दर्ता भएका छन्।

यस्तै निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *