सुदूरपश्चिम प्रदेशको सत्ता संकट टार्न विश्वासको मत दिने माओवादीको निर्णय

डिसी नेपाल
२१ फागुन २०७९ ११:५०
628
Shares

धनगढी । विश्वासको मत नपाएर एक महिनामा सुदूरपश्चिम सरकार ढलेपछि नयाँ बनेको कांग्रेस नेतृत्वको सरकारसमेत विश्वासको मत पाउनेमा आश्वस्त हुन सकेको छैन ।

प्रदेश सरकारको अंकगणितमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना मागहरु सम्बोधन नभए विश्वासको मत नदिने पूर्ववत अडानमा अडिग रहँदा सुदुरपश्चिम सरकार फेरि विश्वासको मत पाउनेमा अन्यौलग्रस्त देखिएको छ ।

सुदूरपश्चिम सरकार गठन भएको एक महिनामै मुख्यमन्त्रीबाट एमाले बाहिरिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि माघ २७ गते सरकारबाट बाहिरिएका थिए । सुदूपश्चिम प्रदेशसभामा एमालेका १० सांसद रहेका छन् ।

उनको सरकारबाट बहिर्गमन भएलगत्तै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गरेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह विश्वासको मत प्राप्त गर्ने ध्येयले दौडधुप तीब्र पारेका छन् ।

मुख्यमन्त्रीमा शपथ लिएपछि सुरुमै सुदूरपश्चिमको सत्ता राजनीतिमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको परिवार भेट्न पुगेका थिए । उनले विश्वासको मत लिने समयावधि नजिकिँदै गर्दा दौडधुप बढाएका हुन् ।

मुख्यमन्त्री शाहले आज आइतबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । उनले विश्वासको मत पाउन नागरिकउन्मुक्ति या माओवादीमध्ये कुनै एकको मत पाउनुपर्ने हुन्छ । ५३ सदस्यीय प्रदेशसभाबाट विश्वासको मत लिन मुख्यमन्त्री शाहलाई २७ मतको आवश्यक पर्दछ । अहिले शाहसँग कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरी २३ सांसद रहेका छन् । अब उनलाई विश्वासको मतका लागि ४ सांसद अपरिहार्य छ ।

यस्तै नागरिक उन्मुक्तिसँग ७ र माओवादीसँग ११ सांसद रहेको प्रदेशसभामा उन्मुक्तिले मत दिने या नदिने अन्यौलपूर्ण अवस्थामा रहेको छ । अझै टुंगो लगाएको छैन ।

मुख्यमन्त्रीको दाबेदार रहेका माओवादी संसदीय दलका नेता खगराज भट्टकै कारण शाहलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको बैठकले शनिबार निर्णय गरेको थियो ।

तर, केन्द्रमा नयाँ बनेको कांग्रेसससहितको गठबन्धनका कारण माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता खगराज भट्टलाई दबाव दिएका छन् । सोही कारण संसदीय दलका नेता भट्ट असन्तुष्ट रहेपनि माओवादीले  आज मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णयमा गरेको छ ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले कांग्रेस सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनले डिसी नेपालसँगको कुराकानीमा संसदीय दलका नेता खगराज भट्टकाे असन्तुष्टिबारे बारे आफूलाई जानकारी नभएको बताए ।

‘विकसित राजनीतिक घटनाक्रम र नयाँ बनेको गठबन्धनको भावनाको कदर गर्दै विश्वासको मत दिने निर्णय गरेका छौं । पार्टी केन्द्रको निर्णय बमोजिम  हामीले विश्वासको मत दिन्छौं ।’,उनले भने

अध्यक्ष चौधरीले माओवादी केन्द्रको संस्थागत निर्णय र सत्ता गठबन्धनको मर्म अनुरुप मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन लागिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.