जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस

डिसी नेपाल
२१ फागुन २०७९ २२:५५
24
Shares

काठमाडौं । आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ।

उक्त कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो। कार्यदलले एक सय ५२ जना आरोपी नेतासँग बयान लिनाका साथै अन्य प्रमाण र थप जानकारीका लागि दुई सय ४७ जनासँग पनि भेटेर कुराकानी गरेको थियो।

कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ।

कोसी प्रदेशको पाँचथर, सुनसरी र मोरङ, मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको मकवानपुर, धादिङ, काभ्रे, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गएर कार्यदलले छानबिन गरेको थियो।

प्रतिवेदन बुझ्दै जसपा अध्यक्ष यादवले पार्टीको अगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई कार्यान्वयन गरिने बताएको कार्यदलका संयोजक थापाले जानकारी दिए।

यसअघि विसं २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा छानबिन गर्न कार्यदल गठन भएको थियो। तर त्यो कार्यदलले बुझाएको प्रतिवेदन भने कार्यान्वयनमा आएको थिएन।

विसं २०७४ सालको चुनावमा भएको छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने तथा आठ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.