राष्ट्रपति निर्वाचन : राप्रपाले कसलाई दिन्छ भोट?

डिसी नेपाल
२३ फागुन २०७९ १०:२९
116
Shares

काठमाडौं। सोमबार आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भोट माग्न राप्रपा मुख्यालय पुगे।

राप्रपासँग राष्ट्रपतिमा आफूलाई सहयोग गर्न पौडेलले आग्रह गरे, राप्रपा नेताहरुले भने पार्टीको बैठक बसेर राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय गर्ने बताए।
तर, राष्ट्रपतिका उम्मेदवार पौडेलले राप्रपा आफूलाई मत दिन सकारात्मक रहेको प्रतिक्रिया दिए।

राष्ट्रपतिको निर्वाचन यही शुक्रबार हुँदैछ। राप्रपासँग यसअघि नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले आफूलाई मत लिन आग्रह गर्दै राप्रपा नेताहरुसँग भेटघाट गरिसकेका छन्। सोमबार आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले पनि राप्रपा नेताहरुसँग आफूलाई मत दिन आग्रह गरे।

राष्ट्रपतिका कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गर्न बुधबार राप्रपाले बैठक बोलाएको छ।

राप्रपाभित्र एक समूह राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने पक्षमा छ। तर अध्यक्ष राजेन्द्र लिङ्देनसहित बहुसंख्यक नेता राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई मत दिनुपर्ने पक्षमा छन्। संभवतः भोलि बस्ने पार्टी बैठकले कसलाई मत लिने भन्ने निर्णय गर्नेछ।

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाभित्र निर्वाचनमा पनि सहकार्य गरेको हिसावले एमाले उम्मेदवारलाई मत दिनुपर्ने मत बलियो छ।

‘हिजो हामीले निर्वाचनमा पनि एमालेसँग सहकार्य गरेका छौं,’ यद्यपि सहकार्य गरेका भन्दा नगरेका उम्मेदवार धेरै विजयी भएर आएका छौं,’ राप्रपाका एक पदाधिकारीले डिसी नेपालसँग भने, ‘एमालेसँग सहकार्य गरेका तीन जनाले चुनाव जित्नु भयो भने सहकार्य नगरेका चार जना चुनाव जितेर आउनु भएको छ। तै पनि हामीले खोला तर्यो, लौरो बिर्सियो जस्तो गर्नु हुँदैन। एमाले उम्मेदवारलाई नै मत लिनुपर्छ।’

चुनावमा केही स्थानमा एमालेसँग सहकार्य गरेको राप्रपा यसअघि एमाले अध्यक्ष केपी ओलीको पहलमा निर्माण भएको गठबन्धनमा सहभागी हुँदै सरकारमा समेत सहभागी भएको थियो।

तर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने निर्णय गरेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.