मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको छैनः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको बताएका छन्।
मंगलबार काठमाडौंमा साहस उर्जाद्वारा निर्मित सोलुखोला दुधकोसी जलबिद्युत आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताएका हुन्।
मुस्ताङको चर्चा आउने बित्तिकै सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै उनले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए।
प्रधानमन्त्री प्रचण्डले मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने धारणा राखे।
आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने उनको भनाइ छ।
उनले भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेका जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताए।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि गुणात्मक परिवर्तन आएको भन्दै यस क्षेत्रमा देखिएका समाधान सम्बोधनका लागि सरकार गम्भीर हुनुपर्ने बताए।
सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो। सो आयोजनाको क्षमता ८६ मेगावाट छ। सोलु खोलाको पानीलाई टनेलमार्फत दुधकोसीमा मिसाएर व्यवसायीक उत्पादन थालेको आायेजनाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment