समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छः उपसभामुख रानामगर
बनियानी। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छन्।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उनले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्।
“जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको विकास गर्नुपर्छ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका बताउँदै उनले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिइन्। महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो।
हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पुर्याउन सबै महिला एकजुट हुनुपर्ने बताइन्। नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उनको भनाइ छ। समाज र मुलुकको समग्र विकासका लागि महिला र पुरुष हातमा हात साथमा साथ दिएर अघि बढ्नुपर्ने उनले उल्लेख गरिन्। महिलाको समस्या सम्बोधन गर्न र आवश्यक नीति निर्माणमा सदनमा आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाइन्।
कार्यक्रममा कनकाई–२ का एक सय चार वर्षीया ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ का अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल)कर्मी अंशिका शर्मालाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वलाई उपसभामुख रानामगरले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा नगरप्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले महिलाको हकहित र वृत्ति विकासका लागि काम गर्दै आएको बताए।
त्यस्तै उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरपालिकामा महिला हिंसाका घटना कमै रहेको बताइन्। आएका घटनालाई सबैको पक्षमा विजयको अवस्थामा मिलाउने हरसम्भव प्रयास गर्ने गरिएको बताइन्। उनले महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकास लागि नगरले सक्दो सहयोग गर्ने र त्यस प्रकारका कामका लागि प्रस्ताव ल्याउनसमेत आग्रह गरिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment