दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे
गलेश्वर। म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन्। विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा आज सम्पन्न तीन दिने निःशुल्क शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने भएका हुन्।
जिल्लाको बेनी नगरपालिका–२ खबराका खड्काले शल्यक्रियापश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकसँग गीत गाएर नाच्दै खुसी व्यक्त गरे। चिकित्सकले आँखाको शल्यक्रिया गरेपछि स्पष्टरूपमा आँखा देख्ने भएको खड्काले बताए।
त्यसैगरी बेनी–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो। बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेपछि खुसी हुँदै चिकित्सककै अघि नाचेर रमाइलो गरे।
खड्का र विकजस्तै ८२ जना वृद्धवृद्धा आज शल्यक्रियापछि आँखाले संसार हेर्न पाउँदा दङ्ग परेका छन्। बेनी अस्पतालमा चैत ५ गतेदेखि सञ्चालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताए।
“धेरै मोतियाविन्दु वृद्धवृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उनले भने।
नेत्रज्योति सङ्घ म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माइकल बाउर एण्ड फ्रेण्ड, बाँडेन बाँडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट आठ सय ६९ जनाको आँखाको परीक्षण गरिएको नेपाल नेत्रज्योति सङ्घ म्याग्दीका अध्यक्ष बानियाँले जानकारी दिए।
गाउँगाउँमा नेत्रज्योति सङ्घले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि बेनीमा सञ्चालित शिविरमा गरिएको उनको भनाइ थियो।
बेनी–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको तीन वर्ष भए पनि मोतियाविन्दुको शल्यक्रिया गरेका थिएनन्। “पोखरा जाने समय र पैसा नहुँदा मोतियाविन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,” उनले भनिन्, “बेनीमा मोतियाविन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फकिएँ।”
यसअघि गत असोजमा १९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताए। “एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,” उनले भने।
धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाविन्दु र जलविन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाई सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ।
शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट छ जनासहित आठ जनाको प्राविधिक टोलीले आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया गरेको थियो। नेत्रज्योति सङ्घले शिविर सम्पन्न गराउन सहयोग गर्नुहुने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गरेको छ।
स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको नेत्र परीक्षण गरिएको अध्यक्ष बानियाँले जानकारी दिए। “गाउँमा पहिचान भएका मोतियाविन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,” उनले भने।
रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाविन्दुका बिरामी पहिचान गरिएको थियो।
हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment