नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत

डिसी नेपाल
३० साउन २०८३ १९:१४

काठमाडौं। नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरे।

कार्यक्रममा नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही रु ५०/५० हजार प्रदान गरिएको छ।

त्यसैगरी नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनही रु ५०/५० हजार प्रदान गरिएको छ।

यस्तै नूर–गङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रुपन्देहीका वनमाली निराकारलाई रु ५० हजार तथा नूर–गङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई रु ५० हजार प्रदान गरिएको छ।

नूर–गङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई रु ३० हजार तथा नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई रु ३० हजार प्रदान गरिएको गुठीले जनाएको छ।

सोही अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्रा डा सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो।

पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गरे। उनीहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यको क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *