‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

डिसी नेपाल
११ चैत २०७९ १७:१७
200
Shares

ओटावा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

“चीनले अहिलेसम्म रुसलाई हतियार उपलव्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,”क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस (एयुकेयुस) महत्वपूर्ण सुरक्षा साझेदार हुन् भने ।

यसैसाता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रुस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए ।

चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना गर्थ्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।

एक पृथक प्रसङ्गमा राष्ट्रपति बाइडेनले आफ्नो देश इरानसँग द्वन्द्वमा फस्न इच्छुक नरहेको तर आफ्ना नागरिक र कर्मचारीको रक्षाका लागि बलप्रयोग गर्न पनि पछिनपर्ने बताएका छन् । आफ्नो सुरक्षा टोली सिरिया भ्रमणमा जाने तयारीमा रहेको जानकारी दिँदै उनले उक्त कुरा बताएका छन् ।

उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारको मृत्यु हुनाका साथै अमेरिकी सेनाका पाँच जना सदस्य घाइते भएपछि अमेरिकाले त्यहाँ तत्काल हवाई हमला गरेको थियो । ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका थिए ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताएका थिए ।

सिरियामा सक्रिय इरानी समूहले उक्त आक्रमण गरिएको ठानिएको छ किनकी ड्रोन इरानमा निर्माण गरिएको अमेरिकी गुप्तचर निकायले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *