रूसले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने पुटिनको घोषणा, इस्कन्डर मिसाइल प्रणाली पठाए
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र बेलारुसमा रुसी रणनीतिक हतियार अर्थात आणविक हतियार तैनाथ गर्ने बताएका छन् ।
युरोपको सन्दर्भमा राष्ट्रपति पुटिनले युरोपमा धेरै ठाउँमा परमाणु हतियार राखेको अमेरिकाको तुलनामा आफ्नो यो कदम आणविक निशस्त्रीकरण सम्झौताको उल्लङ्घन नहुने बताए ।
यद्यपि उनले यो हतियारको नियन्त्रण रुसले बेलारुसलाई नदिने पनि बताए ।
शनिबार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले रूसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए ।
उनले भने, “यसमा कुनै अनौठो कुरा छैन। अमेरिकाले दशकौंदेखि यो गरिरहेको छ। उसले आफ्ना सहयोगीहरूको भूमिमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरू तैनाथ गरिरहेको छ।”
पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाईको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् ।
राष्ट्रपति पुटिनले रूसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही इस्कन्डर मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको बताए।
सन् १९९० को मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गरेको यो पहिलो पटक हो।
सन् १९९१ मा सोभियत संघको विघटनपछि रुस, युक्रेन, बेलारुस र काजाकस्तान – चार नयाँ स्वतन्त्र राष्ट्रहरूमा रुसी हतियारहरू बाँकी थिए। यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो ।
पुटिनको घोषणापछि अमेरिकाले रुसले आणविक हतियारको प्रयोगमा विचार नगर्ने कुरामा विश्वस्त रहेको बताएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले हाम्रो रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरूका सम्बन्धमा हाम्रो रणनीति परिवर्तन नगर्नुको कुनै कारण देख्दैनौं।”
मन्त्रालयले यो पनि भन्यो, “हामी नेटो सैन्य गठबन्धनमा संलग्न देशहरूको रक्षाका लागि प्रतिबद्ध छौं।”
बेलारुस रुसको महत्वपूर्ण सहयोगी मानिन्छ। रुस-युक्रेन युद्ध सुरु भएदेखि नै उसले रुसलाई समर्थन गर्दै आएको छ ।







डिसी नेपाल







Facebook Comment