होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्यो, भन्यो- ताइवान चीनको अभिन्न अंग हो
काठमाडौं । होन्डुरसले ताइवानसँगको दशकौं पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ। मध्य अमेरिकी देश होन्डुरसको यो कदमले उसलाई चीनसँग नजिक ल्याएको छ ।
होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गरेको छ, “होन्डुरसको सरकारले एउटा चीन र जनवादी गणतन्त्र चीनलाई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एक मात्र वैध सरकारको रूपमा मान्यता दिन्छ। ताइवान चीनको अभिन्न अंग हो।”
होन्डुरसको यो कदमपछि ताइवानलाई छुट्टै राष्ट्रको रूपमा मान्यता दिने १३ देश मात्र बाँकी छन् । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र ढिलो चाँडो यो चीनको नियन्त्रणमा आउने विश्वास गर्छ।
तर ताइवानले आफ्नो संविधान र निर्वाचित नेताहरूको सरकार भएको आफूलाई स्वतन्त्र देश ठान्दछ। चीनले लामो समयदेखि मध्य अमेरिकामा आफ्नो खुट्टा फैलाउने प्रयास गरिरहेको छ । ताइवानको विदेश विभागले ट्वीट गर्दै होन्डुरसको यो कदमप्रति दुःख व्यक्त गरेको छ ।
ताइवानले भनेको छ, “हामी गहिरो दु:खका साथ होन्डुरससँगको कूटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गर्दछौँ। जनतालाई वास्तविक फाइदा पुर्याउने ८२ वर्षको मित्रता र सहयोगलाई जिओमारा क्यास्ट्रो सरकारले अस्वीकार गरेको छ। ताइवान दृढ उभिएको छ र विश्वका लागि असल काम गरिरहनेछ।”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले होन्डुरसले जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको बताएका छन्, जसलाई चीनले स्वागत गरेको छ। उनले सामाजिक सञ्जालमा लेखेका छन् कि अन्य १८१ देशहरू जस्तै होन्डुरसले पनि चीनको एक चीन नीतिलाई अनुमोदन गरेको छ।







डिसी नेपाल







Facebook Comment