गुराँसको राजधानीमा चैतमा पनि फुलेन गुराँस 

डिसी नेपाल
१४ चैत २०७९ १४:४४
100
Shares

सङ्खुवासभा । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन ।

तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण गुराँसको फूल फुल्ने समयमा परिवर्तन आएको छ । विगतका वर्षमा लालीगुराँसले यतिबेला तीनजुरे क्षेत्रका वनपाखा रङ्गीन भएको देख्न पाइन्थ्यो तर यो वर्ष चैतको आधा महिना बित्दा भर्खर कोपिला लाग्न सुरु भएको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष ढिला गुराँस फुल्न थालेको धर्मदेवी नगरपालिका–५ का दुर्गामणि पौडेलले बताए ।

लालीगुराँस फुलेपछि तीनजुरेले सबैको मन लोभ्याउने गर्दछ तर समयमै गुराँस नफूल्दा त्यसको असर होटेल व्यवसायदेखि अरू क्षेत्रमा पनि परेको होटल ब्यवसायी सानुमाया दाहालले बताए । गुराँस फुलेको हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण विगतमा निकै रमझम हुने तीनजुरे क्षेत्र यसपटक सुनसान भएको उनको भनाइ थियो ।

तीन जुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । पाथीभरा, चौकी, मङ्गलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जङ्गल छ । तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफूले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजाति पनि छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुण्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस तीनजुरे क्षेत्रमा पाइन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *