कराँचीको खाद्यान्न वितरण केन्द्रमा भागदौड, १२ जनाको मृत्यु

डिसी नेपाल
१८ चैत २०७९ १३:४५
72
Shares

काठमाडौं । पाकिस्तानको कराँचीमा शुक्रबार रमजानको अवसरमा आयोजना गरिएको खाद्यान्न वितरण केन्द्रमा भागदौड हुँदा महिला र बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा धेरै मानिस घाइते समेत भएका छन् ।

केही व्यक्तिले अनजानमा विद्युतको तारमा पाइला टेक्दा भागदौड भएको हो । प्रहरीका अनुसार यसपछि मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि धेरै मानिस नजिकैको नालीमा खसेका थिए ।

त्यहाँका एसएसपी अमिरुल्लाहले भारतीय समाचार एजेन्सी पीटीआईलाई भने, “सुरुमा दुई जनाको बिजुलीको तारमा टेकेर मृत्यु भएको थियो, जसले गर्दा भागदौड मच्चियो।”

केमारी प्रहरी प्रवक्ताले घटनामा ११ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई अस्पतालमा भर्ना गरी यस विषयमा अनुसन्धान भइरहेको छ ।

मारिनेमा अधिकांश ४० देखि ५० वर्ष उमेर समूहका महिला रहेका छन् । मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् ।

सिन्धका मुख्यमन्त्री मुराद अली शाहले कराचीका प्रहरी आयुक्त मोहम्मद इकबाल मेमनसँग घटनाबारे रिपोर्ट मागेका छन्।

केही दिनअघि मात्रै पाकिस्तानको पञ्जाब प्रान्तमा सरकारी राशन वितरण केन्द्रबाट सित्तैमा पिठो लिन खोज्दा कम्तीमा ११ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *