एफएनसीसीआईको कार्यसमिति चयनका लागि मतदान सुरु
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नयाँ कार्यसमिति चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ। मतदान काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने भएको छ।
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुँदैछ। यी तीन उम्मेद्वारले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएसटतर्फ पनि अलग अलग टोली बनाएका छन्।
महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन्। यस हिसाबले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य मतदानबाट चयन हुनेछन्।
कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन्।
महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष बन्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment