सरकारी विद्यालयमा गुणस्तर बढाउने भन्दै नीजि विद्यालयका गाडी गाउँ प्रवेश गर्न निषेध

डिसी नेपाल
३ वैशाख २०८० २१:४२
1.7k
Shares

महोत्तरी। सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले नीजि विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन्।

बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बिराट विष्टले पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजि विद्यालयका गाडीलाइ निषेध गर्ने निर्णय गरेका हुन्।

२१ फाल्गुन २०७९ मा शिक्षक अभिभावक संघको भेलाले गरेको निर्णयलाइ ऐक्यबद्धता जनाउँदै वडाले गाडी निषेध गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए।

तर विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी निजि विद्यालयको गाडीलाई निषेध गर्नुले बालबालिकाको पढन पाउने अधिकार हनन गर्न खोजेको उनीमाथि आरोप लागेको छ।

नजिकमा रहेको जनजागृत माध्यामिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेपछि पाटुका धेरै अभिभावकहरुले निजि विद्यालयमा नै पढाउँदै आएका छन्।

बर्दिबासमा नै रहेको नीजि विद्यालय सनसाइन इङलिस बोर्डिङ्ग स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, नोवेल बोर्डिङ स्कुल र बर्दिबास बोर्डिङ्ग स्कुलले त्यहाँबाट विद्यार्थी बोक्दै आएका छन्।

यसैको कारणले पनि जन जागृत माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको केही स्थानिय र जनप्रतिनिधिको ठहर छ।

‘घारी टोल, तल्लो पाटु, माथिल्लो पाटु लगायतका ठाउँहरुवाट विद्यार्थीहरु निजि विद्यालयमा जाने भएकाले उक्त ठाउँमा सवारीसाधन आउन निषेध गर्ने निर्णय गरेका हौं,’ अभिभावक संघका अध्यक्ष रमेश खत्रीले भने।

वडाले निषेध गर्ने निर्णय गरेको पत्र सामाजिक संजालमा सार्वजनिक गरेपछी वडा अध्यक्षमाथि बाक्लै आलोचना भएका छन्। देउराली उच्च माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक प्रदीप कार्कीले यो निर्णय त्रुटिपूर्ण भएको बताए।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष विष्टको निर्णयलाई लिएर उनकै पार्टीका स्थानीय नेताले समेत आपत्ति जनाएका छन्। जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने मान्यता विपरित पूर्वाग्राही निर्णय गरिएको नेकपा एमालेका स्थानीय युवा अमिश रिसालको तर्क छ।

यता नीजि विद्यालयका सञ्चालकले बैसाख-५ गतेपछि निषेध गरिएको क्षेत्रमा निर्वाधरुपमा गाडी चल्ने बताए। एभरेस्ट पव्लिक एकेडेमीका संचालक अरुण कार्कीले कानुन हातमा लिएर तनासाही निर्णय गरेको आरोप लगाए। वैसाख-५ गतेपछी पाटु गाउँ आवतजावत गर्ने गाडीलाइ रोकेर देखाउन पनि उनले वडा अध्यक्ष विष्टलाई चुनौती दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *