चितवन-२ उपनिर्वाचन

रविसँग नोकझोंक गरेका मतदातालाई सहानुभूति दिँदै सापकोटा

डिसी नेपाल
५ वैशाख २०८० १३:५४
3.4k
Shares

काठमाडौं। आसन्न बैशाख १० को उपनिर्वाचन नजिँकिएसँगै चितवन-२ मा उम्मेदवारको मतदातासमक्ष मत माग्न व्यस्त छन्।

त्रिपक्षीय प्रतिस्पर्धा देखिएको चितवन-२ मा यसपाली दलहरु परिणाम आफ्नो पक्षमा पार्न भगिरथ प्रयत्न जारी राखेका छन्।

चितवन-२ को उपनिर्वाचनमा यसअघि विजयी भएका रास्वपाका सभापति रवि लामिछानेको सर्वोच्च अदालतको आदेशले नागरिकता अवैध ठहर भएसँगै फेरि उपनिर्वाचन हुन लागेको हो।

यसपटक रास्वपाका सभापति रवि लामिछाने, सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

चुनावी प्रचार गर्ने क्रममा दलका उम्मेदवारहरुसँग मतदाताले जिज्ञासा र आक्रोश व्यक्त गरेको समेत मिडियामार्फत उजागर भइरहेको छ।

केही दिनअघि चुनावी प्रचारका क्रममा रास्वपाका सभापति रवि लामिछानेले एक मतदातासँग नोकझोक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

यही क्रममा चुनावी प्रचारको क्रममा रास्वपाका सभापति रविलामिछानेमाथि प्रतिप्रश्न गर्ने एक मतदाता समक्ष पुगेर सहानुभूति व्यक्त गर्दै मत मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

उपनिर्वाचन हुन लागेको निर्वाचन क्षेत्र चितवन-२ को इच्छाकामना गाउँपालिका-६ खानी खोलामा रहेका किराना पसले सुदर्शन विष्टसँग उम्मेदवार रवि लामिछानेको सवाल जवाफ भएको थियो।

रास्वपाका सभापति लामिछानेकै कारण उपनिर्वाचन हुन लागेको भन्दै मतदाता विष्टले लामिछानेसँग सवाल गरेका थिए। त्यसको जवाफ दिने क्रममा लामिछानेले प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै मतदातासँग विष्टलाई बुझाउने प्रयत्न गरेका थिए।

तर, लामिछानेमाथि प्रश्नको वर्षा गरेपछि उनले पसलमा राखिएको पफ देखाउँद उक्त खाद्य सामग्री कम्पनीले प्रयोगको समयावधि उल्लेख नगरिएको बताएका थिए।

उनले सो बिक्री गर्न राखिएको पफ बेचबिखनमा प्रक्रियागत कमजोरी रहेको हुँदा कानूनको भागिदार बन्नुपर्ने आक्रोशित भएर विष्टलाई सचेत बनाएका थिए।

त्यसपछि जवाफमा पसलेसमेत रहेका मतदाता विस्टले यसमा आफ्नो कमजोरी नभएको बताउँदै राज्यको नियमनकारी निकायले अनुगमन गरेर उत्पादक कम्पनीलाई सचेत बनाउनुपर्ने त्यसको जिम्मेवारी राज्यको रहेको र पूर्वगृहमन्त्री हैसियतले लामिछानेको पनि जिम्मेवारी रहेको बताएपछि लामिछाने आक्रोशित भएर पफ मिल्काएर हिँडेका थिए।

उनले अन्तिममा विष्टको प्रश्नको जवाफ आक्रोशित हुँदै पफ बजारेर हिँडेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनमा सहनशीलता र जवाफदेहीता नभएको भन्दै सर्वत्र आलोचना भएको थियो।

सोही इच्छाकामना गाउँपालिका-६ स्थित किराना पसले विष्टको निवासमा मंगलबार एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने पुगेर उनलाई सहानुभूति दिँदै मत तान्ने प्रयत्न गरेका छन्।

न्यौपानेसहित निर्वाचनको प्रचारको क्रममा रहेको टोलीले सोही लामिछानेले फ्याकेको पसलमा पुगर पफ खाएर उनको समर्थन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनीसहित गएको निर्वाचन प्रचार टोलीले प्रश्न गर्न पाइने र जनप्रतिनिधि जवाफदेही बन्नुपर्ने भन्दै किराना पसले विष्टको पक्षमा रहेको बताएका छन्।

पछिल्लो परिघटना उम्मेदवारहरुर्ले मत आकर्षित गर्ने प्रपञ्चका रुपमा सामान्य घटनामा सहानुभूति बटुल्दै मत तान्ने प्रयत्न गरेको भन्दै सामाजिक सञ्जालमा समर्थन र विरोधको रोइलो सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.