प्रमिला भन्छिन्–हुक्काः एन एब्जर्ड ड्रिमको स्वाद लोकल चामल जस्तै

डिसी नेपाल
२२ वैशाख २०८० १२:१५
356
Shares

काठमाडौँ। अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन्  उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिइन्। वास्तविकता पनि त्यही थियो।

आगामी जेठ १२ गते रिलिज हुने फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ मा प्रमुख भूमिकामा अभिनय गरेकी प्रमिलाले यो फिल्मको अभिनय पछि ‘हुक्का’को वास्तविक अर्थ बुझिन्। ‘हुक्कालाई मैले हेर्दा सामन्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडाका रुपमा सम्झन्थे। हुक्कालाई समाजमा प्रतिष्ठाको विषय मानिँदो रहेछ भन्ने सुनेको थिएँ । तर यो फिल्ममा काम गरेपछि त्यो भ्रम मात्र रहेछ भन्ने थाहा पाएँ,’ प्रमिला भन्छिन्।

फिल्म ‘दबाब’बाट अभिनय यात्रा सुरु गरेकी प्रमिलाले त्यसयता उनले धेरै फिल्ममा सहायक चरित्र निभाईन् । तर ‘हुक्काः एन एब्जर्ड ड्रिम’मा भने उनले प्रमुख चरित्र निर्वाह गरेकी छन्। प्रेमिलाले फिल्ममा साहसी र निडर महिलाको भूमिका निर्वाह गरेकी छन्। ‘सम्बन्धविच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु’, आफ्नो भूमिकाबारे प्रमिला भन्छिन्।

यो फिल्ममा लकडाउन पछि जोडिएकी हुन्। लकडाउनमा धेरै समय घरमै बसेकी प्रमिलाले त्यही समयमा ‘हुक्काः एन एब्जर्ड ड्रिम’को स्क्रिप्ट पढिन्। ‘मेरो चरित्रसँगै फिल्मले देखाउन खोजेको विषयवस्तु पनि मन पर्यो। अर्को कुरा सबै सुटिङ पोखरामा नै हुने भएपछि म यो फिल्ममा जोडिएँ’, उनी भन्छिन्, ‘किनकी कोरोनाले सुनसान बनेको काठमाडौबाट केही समय टाढा बसेर काम गर्ने मौका पाएकी थिएँ। त्यो मौकालाई गुमाउन चाहिनँ। त्यो समय सुटिङ गर्न जादैछु भन्दा पनि केही सिक्न र आफुलाइ फ्रेस बनाउन जादैछु भन्ने थियो।’

प्रमिलाको बुझाईमा ‘हुक्काः एन एब्जर्ड ड्रिम’ले समाजकै कथा बोल्छ। उनले ट्रेलरमा देखाइएका विषयवस्तु समाजसँग ‘रिलेट’ गर्ने भएकाले पनि फिल्म राम्रो बनेको दाबी गरिन्।

प्रमिला यो समय मातृत्वकालको अनुभव लिइरहेकी छन्। गत वैशाखमा उनी छोराको आमा भइन्। फिल्ममा पनि उनले एउटी छोरीकी आमाको चरित्र निभाएकी छन्। ‘फिल्मले एउटी आमाको छोरी प्रतिको दावित्व, कर्तव्य र सम्बन्ध निकै प्रगाढ देखाएको छ। अहिले म पनि वास्तविक जीवनमा आमा बनेकी छु। सन्तानसँग एउटी आमाको सम्बन्ध अविस्मरणीय हुँदो रहेछ’, प्रमिला भन्छिन्, ‘अहिले छोरालाई बढी समय दिइरहेकी छु। यही बेला फिल्मको रिलिज हुने भएकाले फिल्मको प्रोमसनमा हिँड्न नपाउँदा खुःख लागेको छ।’

‘हुम्काः एन एब्जर्ड ड्रिम’लाई प्रमिला ‘लोकल चामल’ मान्छिन्। उनी आम नेपालीलाई ‘लोकल चामल’को स्वाद थाहा भइरहेको बेला यो फिल्मले त्यो स्वाद दिनेमा ढुक्क छिन्। ‘हुक्काः एन एब्जर्ड ड्रिममा त्यही देखाउन र चखाउन खोजिएको छ। हामीले कुनै भयङ्कर फरक र डर लाग्दो विषय पनि उठाएका छैनौं। तर जे भन्न र देखाउन खोजेका छौं। त्यो चाहिँ फरक तरिकाले देखाउने प्रयास गरेका छौं’, प्रमिलाको बुझाई छ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *