महाकालीमा बालुवा छान्नेको पीडा : ‘बालुवा नछाने भोकै बस्नुपर्छ’

डिसी नेपाल
२७ वैशाख २०८० १३:१२
200
Shares

बेदकोट। गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्।

उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग। कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त, कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन्।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी, बालुवा।

ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो। दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उनको चुलोमा आगो बल्छ। “घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन”, उनी भन्छिन्, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ।”

कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनीहरुका चार छोराछोरी छन्। “खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छुप्रो मात्रै छ”, मानसिंहले भने, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।”

महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी चन्द्रा भुलको जीवनको आधा समय घर्कियो। घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उनको दैनिकी नै हो। “यहीँ गिट्टी, बालुवा संकलन गरेर बिक्री गर्छौं, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उनले भने, “खाद्यान्न खरिददेखि बालबच्चाको विद्यालयको खर्च यही कमाईले व्यहोर्न पर्छ।”

सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको धौली नेगी बताउँछन्। “गिट्टी छानेर बिक्री गरेको पैसाले खर्च जोहो गर्नै मुस्किल पर्छ, नुन, तेल, खाद्यान्न सबै किनेरै खानुपर्छ”, उनले भने, “कमाईको स्रोत यहीँ एउटा छ, सबै खर्च व्यवस्थापन गर्न मुस्किल पर्छ।”

कात्तिक सुरुआतदेखि जेठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्ने गरेका छन्। नदीमा बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उनीहरुको गुनासो छ।

“कात्तिकदेखि जेठसम्म मात्रै नदीमा काम पाइन्छ, अरू समय बेरोजगार बस्नु पर्दा घरखर्च चलाउन समस्या हुन्छ”, चन्द्रा भुलले भनिन्, “गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौं।”

कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन्। गिट्टी, बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेको उनीहरुको भनाइ छ।

बालुवा प्रतिट्रली रु एक हजार पाँच सय र गिट्टी रु दुई हजार सात सयमा बिक्री गर्ने गरेको दूरा भुलले बताए। “एक मान्छेलाई ट्रली बनाउन हप्ताभन्दा बढी नै लाग्छ, दुई/तीनजना मिलेर गरे दुई/तीन दिनमा पनि ट्रली तयार हुन्छ”, उनले भने, “ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।”

वर्षौंदेखि गिट्टी, बालुवाको मूल्य नबढेको उनले बताए। “सुरुमा पनि हामीले यतिमै बिक्री गथ्र्यौं, सबैतिर महँगाइ छ”, उनले भने, “तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन।”

कात्तिकदेखि मंसिरसम्म गिट्टी प्रतिट्रली रु तीन हजारसम्म बिक्री गर्ने गरिएको रेश्मा भुलले बताइन्। “कहिलेकाहीँ बालुवा, गिट्टी बिक्री नहुँदा सस्तोमै पनि बिक्री गर्नुपर्छ”, उनले भनिन्, “काम नपाउँदा कर्जा निकालेर खर्च चलाउनुपर्छ, सिजनमा कमाएको पैसा कर्जा तिर्नमै जान्छ।” – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *