फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ जेठ १२ गतेदेखि रिलिज हुँदै

डिसी नेपाल
३ जेठ २०८० १३:४७
132
Shares

काठमाडौँ। आगामी जेठ १२ गतेबाट फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ रिलिज हुँदैछ। यो फिल्म नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ। फिल्मलाई लिएर निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त छ। यसै सन्दर्भमा फिल्मको टिमले केही पत्रकारसँग कुराकानी गर्दै फिल्मबारे जानकारी दिएको छ।

निर्देशक शम्भु थापाले फिल्म अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताएका छन्। ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं’, उनले भने, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व गरेको छ।’

उनले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ता भौतारिने गरेको कथालाई फिल्ममा देखाइएको बताए । उनले फिल्ममा सामन्तवादको केही विषय समेटिएको खुलाए।

अभिनेता तेज गिरीले फिल्ममा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निवार्ह गरेको खुलाए। उनले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए । ‘मेरो चरित्रले कथामा नयाँ ट्वीस्ट ल्याउँछ’, उनले भने।

अभिनेत्री तलिसा गुरुङले नेपाली भाषाको डेब्यू फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा अभिनय गर्न पाउँदा खुशी लागेको बताइन्। उनले राम्रो टिम र कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मनपराउने बताइन्।

अभिनेता प्रकाश घिमिरेले फिल्ममा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने खुलाए। उनले आफू कहिले नरम र कहिले कडा पात्रको रुपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको जनाए।

फिल्मका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताए। फिल्मको कथा अहिलेसम्म आएको फिल्म भन्दा भिन्न भएको उनको दाबी थियो।

कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले फिल्ममा लगानी गरेको बताए। फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान् पौडेलको पटकथा छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *