असुरक्षा बढेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेलाई नख्खु कारागारमा सारियो

डिसी नेपाल
१८ असार २०८० १०:४९
8.8k
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दुई अभियुक्तहरुलाई जेल सरुवा गरिएको छ। केन्द्रीय कारागारमा रहेका अभियुक्तद्वय केशव दुलाल र सानु भण्डारीलाई नख्खु कारागार पठाइएको हो।

केन्द्रीय कारागारमा उनीहरुलाई असम्बन्धित मानिसहरु भेट्न गएको र त्यहाँ उनीहरुको भौतिक शरीरमा असुरक्षा रहेको भन्दै नख्खु कारागार पठाइएको हो।

शुरुमा उनीहरुलाई सुन्धारास्थित भद्र बन्दीगृहमा रािखएको थियो। अन्यलाई भने केन्द्रीय कारागारमा राखिएको थियो। तर जेल प्रशासनले असुरक्षाको कारण देखाएर दुलाल र भण्डारीलाई एक साता अघि नक्खु कारागारमा पठाइएको छ।

सो विषयमा केन्द्रीय कारागाका जेलर उपसचिव ललितकुमार बस्नेतले पुष्टि गरेका छन्। ‘असुरक्षा महशुस भएपछि उहाँहरुलाई नख्खु कारागार पठाइएको हो’, बस्नेतले भने। गृहप्रसासनले नक्खुमा पनि उनीहरूको सुरक्षामा विशेष ख्याल गर्न निर्देशन दिइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतको संलग्नता रहेको भण्डारी र दुलालले नै खुलाएका थिए।

दुईजनाले उच्चपदस्थको संलग्नता मात्र खुलाएनन्, आर्थिक लेनदेनको प्रमाणसमेत प्रहरीलाई दिएपछि नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानले मूर्त रुप लिएको प्रहरीको भनाइ छ।

उनीहरुले नै सबै पोल खोलिदिएका कारण जेलमै असुरक्षा हुने अनुमानका साथ जेल सारिएको हो त्यहाँ पनि निगरानी गर्न आग्रह गरिएको छ।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएसँगै प्रहरीले उनीहरू सबैलाई केन्द्रीय कारागार चलान गरेको थियो।

न्यायिक हिरासतमा रहेका सबैलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको तर ती मध्ये दुईलाई नख्खु पुर्‍याइएको छ। उनीहरुको भेट अन्य अभियुक्तसँग नहोस भनेर जेल सारिएको स्रोतको दावी छ।

‘उनीहरुले नै सबै पोल खोलिदिएका कारण जेलमै असुरक्षा हुने अनुमानका साथ जेल सारिएको हो त्यहाँ पनि निगरानी गर्न आग्रह गरिएको छ’, केन्द्रीय कारागार स्रोतले भन्यो।

नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ तथा दलालहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, कुमार गुरुङ, रामशरण केसी, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, गोविन्द चौधरी र बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए। उनीहरूलाई कारागार चलान गरिएको थियो।

त्यस्तै केशव तुलाधार, अशोक पोख्रेल, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, आशिष बुढाथोकी, रमा थापा, प्रतीक थापा र नीरज राई अहिले फरार छन्। प्रतीक पूर्वगृहमन्त्री बादलका छोरा हुन भने नीरज इन्द्रजित राईका छोरा हुन्। उनीहरुलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *